आन्दोलनको रापले मन्त्रीको बोली फेरियो


नेपाल समाचारपत्र, ललितपुर

ललितपुरको जावलाखेलबाट करिब सात किलोमिटर दूरीमा रहेको ऐतिहासिक गाउँ अहिले आन्दोलित रहेको छ ।
सरकारले राष्ट्रिय गौरवका रुपमा लिइएको काठमाडौं–तराई, मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को जिरो किलोमिटर अर्थात शुरुको बिन्दु पर्ने ललितपुरको सो योजना खोकनाबासीलाई स्वीकार्य छैन र त खोकना आन्दोलित छ ।

फास्ट ट्रयाकको वातावरणीय प्रभाव मूल्यांकन, सार्वजनिक सुनवाइदेखि फास्ट ट्रयाक चाहिँदैन भन्दै आएका स्थानीयको विरोधलाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिन्ता र चासो प्रकट हुन थालेको छ । विकासको नाउँमा राज्यबाट हुँदै आएको षड्यन्त्र र नेवाः समुदायको राजनीतिक, सामाजिक र आर्थिक हैसियत समाप्त पार्ने कडीका रुपमा फास्ट ट्रयाक निर्माणलाई लिएको खोकना जनसरोकार समितिका संयोजक नेपाल डंगोलले बताउनुभयो ।

स्थानीयका अनुसार विकासको नाउँमा खोकना भइरहेको सांस्कृतिक सम्पदा र पर्यावरणको विनाशको बहसले क्रमशः सडकसँगै सदनमा स्थान पाउन थालेको छ । खोकनाको खुँडोलमा स्थानीयबासीले स्वतःस्र्फूत रुपमा रोपाइँ गरेसँगै स्थानीय राजनीतिदेखि राष्ट्रिय बहसमा खोकनाको विषयले पुनः स्थान पाउँदै गएको पाइएको छ ।

बेलाबखत खोकनाको समस्याप्रति नजरअन्दाज गरेर अभिव्यक्ति दिएको आरोप लाग्दै आउनुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि फास्ट ट्रयाकले खोकनाको ऐतिहासिक र सम्पदा बस्ती नष्ट गर्ने हो भने फास्ट ट्रयाकको जिरो प्वाइन्टबारे पुनःविचार गर्नुपर्ने अभिव्यक्ति दिन थाल्नुभएको छ ।

यसअघि सोही क्षेत्रका सांसद पम्फा भुसालले विकासको नाउँमा खोकनाको ऐतिहासिक बस्ती निरन्तर अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयको आन्दोलनलाई विकासको विरोधी आन्दोलनको संज्ञा नदिन भन्नुभएको सावर्जनिक भएको छ ।

त्यसै क्रममा वागमती प्रदेशमा आइतबार भएको बैठकमा पनि खोकनाको विषयले प्राथमिकता पाएको छ । बागमती प्रदेशका सांसदहरुले ललितपुरको खोकनामा विकासको नाममा ऐतिहासिक र सांस्कृतिक सम्पदा र बस्तीको अतिक्रमण तत्काल रोक्न माग गरेका थिए ।

खोकनाको ऐतिहासिकता महत्व र खेतीयोग्य जमिनलाई राज्यले नै सखाप पार्ने गरी हुने गरी थालनी गरिएको फास्ट ट्रयाक निर्माण कार्यलाई तत्काल नरोकिएमा कला र संस्कृतिले भरिएको खोकना अस्तित्वमा संकट पर्ने भन्दै उनीहरुले खोकनाको ध्यानाकर्षण गराए ।

काठमाण्डौं उपत्यका बाहिरी चक्रपथ निर्माण कार्य, बागमती कोरिडोर निर्माण कार्य, पेट्रोलियम पाइप लाइन र १ सय ३३ केभी प्रसारण लाइनको विस्तार कार्यले एकातिरबाट हेर्दा विकास भइरहेको जस्तो देखिए पनि वास्तवमा खोकना र त्यसको वरिपरि रहेको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरुको अस्तित्व नै विनाश हुने सांसदहरुले धारणा राखेका थिए ।

सो अवसरमा सांसद विजया केसीले विकासको नाउँमा उर्बर उब्जाउ भूमि नष्ट गर्न नहुने धारणा राख्नुभयो । सांसद राजकाजी महर्जनले विकासको नाउँमा खोकनाका दश हजार रोपनी उब्जाउ जमिन नष्ट हुने भएकाले विकासको नाउँमा राज्यले गर्ने विनाश रोक्न माग गर्नुभयो ।

अर्का सांसद् शोभा शाक्यले खोकनामा भइरहेको आन्दोलनलाई विकास विरोधीका संज्ञा नदिन आग्रह गर्दै विकासको नाउँमा सम्पदा र संस्कृतिको विनाश गर्ने काम तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले कुनै पनि भौतिक संरचना निर्माण गर्न स्थानीयको जग्गा अधिग्रहण गर्दा सरोकारवाला जग्गा पक्षसँग छलफल नै एकतर्फी हचुवा निर्णय गरी मुआब्जा कायम गरेकोमा उनीहरुले विरोध जनाएका थिए ।