करोडौं रुपियाँ तिर्न नपरोस् भनेर अपहरणकाे नाटक


काठमाडौं, (नेस)

चुनदेवी बस्ने एक युवकले अपहरणमा परेको नाटक गरेर गोंगबुस्थित गेस्टहाउसमा युवतीसँग बसिरहेका बेला प्रहरीले पक्रउ गरेको छ ।

गत असार २४ गतेदेखि घरबाट सम्पर्कविहीन भएका शक्तिराज रेग्मीको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाले गोंगबुस्थित सुगन्ध गेस्टहाउसबाट रेग्मी र एक युवतीलाई पक्राउ गरेको थियो ।

घर परिवारबाट समेत सम्पर्कविहीन भएका रेग्मी हराएको निवेदन परेपछि खोजतालस गर्ने क्रममा उनलाई युवतीसँग गेस्टहाउसमा बसिरहेको अवस्थामा फेला पारेको महाशाखाका एसपी ईश्वरबाबु कार्कीले जानकारी दिनुभयो ।

जग्गाको कारोबार गर्ने बहानामा विभिन्न व्यक्तिसँग करोडौं रुपियाँ लिएको र उक्त रकम तिर्न नपरोस् भन्ने हेतुले अपहरणमा परेको नाटक गरेको प्रहरीलाई रेग्मीले बयान दिएका छन् । प्रहरीलाई समेत हैरानीमा पारेपछि उनीविरुद्ध कडा कारवाही हुने महाशाखाले जनाएको छ ।