१९ घर पहिरोमा पुरियो


लमजुङ, (नेस)

केही दिनदेखिको अविरल वर्षापछि लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित पल्लोटारीमा पहिरोले १९ घर पुरिएका छन् । बुधबार बिहान घर माथिबाट खसेको पहिरोले गाउँको कुल ८० घरमध्ये १९ घर पूर्ण क्षति भई बगरका रुपमा परिणत भएको भने बाँकी ६१ घर जोखिममा परेको छ ।

१९ घर पहिरोमा पुरिएको तथा ६१ घर जोखिममा रहेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । पहिरोमा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका थिए । स्थानीयहरु जोखिम पूर्वानुमान गर्दै नजिकैको स्कुलमा बसेकाले मानवीय क्षति नभएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । पहिरोबाट विस्थापित परिवारलाई सामुदायिक भवन र छिमेकी गाउँहरुमा राखिएको मस्र्याङ्दी गाउँपालिकाले जनाएको छ ।