झापामा अपराध घट्यो


न्युज अफ नेपाल,भद्रपुर ।

झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६ सय ८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४ सय ६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा अपराधका घटनामा अझ कमी आई एक हजार १ सय ७० वटा मात्र मुद्दा दर्ता भएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताउँनुभयो ।

तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना रहेको उहाँको भनाइ छ । पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३ सय २१ घटनामध्ये तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै रहेको उहाँले जनाउँनुभयो । आर्थिक वर्ष २०७४/०७५ मा भन्दा २०७५/०७६ मा मुद्दा दर्ता सङ्ख्या १३ दशमलव २१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको सङ्ख्या नै घटेको उहाँको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आत्महत्या, जबर्जस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाहलगायतका मुद्दा आर्थिक वर्ष २०७६/२०७७ मा कमी आएको प्रहरीले जनाएको छ । मुद्दा दर्ताको सङ्ख्यामा कमी आउनुको कारणमध्ये कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि भएको बन्दाबन्दी, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा वृद्धि, प्रहरीको सक्रियता आदि रहेको प्रहरीको बुझाइ छ ।

स्थानीय तहमा भएका अपराधका घटनालाई आधार मान्दा नगरपालिकामा कूल मुद्दा सङ्ख्या ८ सय ९७ रहेको छ भने गाउँपालिकामा २७३ वटा रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १७४ वटा र आर्थिक वर्ष २०७६/०७७ मा १२६ वटा यौनजन्य अपराधका घटना घटेका थिए । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा झापामा ९९ करणी, ३४ करणी उद्योग र एउटा घटना बाल यौन दुरुपयोग अप्राकृतिक मैथुन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुलुकी फौजदारी अपराध संहिता, २०७४ मिति २०७५ साल भदौ १ गतेबाट लागू भएसँगै प्रहरीले अहिले बाल यौन दुरुपयोगसम्बन्धीको कानूनी व्यवस्था भएकाले आर्थिक वर्ष २०७६/०७७ मा बाल यौन दुरुपयोग मुद्दा दर्ता समेत थालिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाउँनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा जबर्जस्ती करणीका ८५, करणी उद्योगका २४ र बाल यौन दुव्र्यवहार र अप्राकृतिक मैथुनका १७ वटा घटना घटेका छन् । यौनजन्य अपराधका घटनालाई हेर्ने हो भने ८५ प्रतिशत घटना जबर्जस्ती करणी, २४ प्रतिशत उद्योग, १३ प्रतिशत बाल यौन दुरुपयोग र चार प्रतिशत अप्राकृतिक मैथुनजस्ता अपराधका घटना हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यौनजन्य अपराधका घटनामा १८ वर्षमुनिका बालबालिका नै सबैभन्दा धेरै पीडित बन्ने गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४६ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन् । त्यस्तै १८ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिलाको हकमा ३७ जना यो अवधिमा बलात्कृत भएका छन् भने २५ देखी ३५ वर्ष उमेर समूहका किशोरी तथा महिला आठ प्रतिशतमात्रै बलात्कृत भएको उल्लेख छ ।

यौनजन्य अपराधका घटनामा १८ देखि २५ वर्ष उमेर समूहका पीडक धेरै रहेको बताइएको छ । सामान्य लेखपढ गर्न जान्ने ९७ प्रतिशत मानिस यौनजन्य अपराधमा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।