नेपालकै अग्लो गुलेली शैलीको लठ्ठे पिङ सञ्चालनमा

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा निर्माण गरिएको नेपालकै अग्लो लठ्ठे पिङ बुधबार देखि सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदी माथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प गुलेली शैलीमा खेलीने नेपालकै अग्लो लठ्ठे पिङ सञ्चालनमा आएको हो ।

बिश्वकै दोस्रो अग्लो बञ्जी, बिश्वकै अग्लो स्विङ्ग सञ्चालनको तयारी गरहेको द क्लिफ प्रालिले आफ्नै रिर्पोट परिसरमा निर्माण गरिएको पिङ सञ्चालनमा ल्याएको छ । बन्जीका लागि कालीगण्डकी नदीको खोंचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दामाथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ। यो ‘गुलेलीको शैली’मा निर्माण गरिएको छ। सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मच्चिन्छ। ‘शुरुमा मानिसले तानेर परिक्षण गरिएपनि अहिले मेसिनले नै तान्ने ब्यबस्था सहित सञ्चालन ल्याएको छ।’ द क्लिफका अध्यक्ष राजु कार्कीले भन्नुभयो ।

अध्यक्ष कार्कीका अनुसार पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइएको छ । चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमूना पिङ बनेको छ।

कार्कीले यो पिङ नेपालकै अग्लो लठ्ठे पिङ भएको दाबी पनि गर्नुभयो । बिश्वमा सबैभन्दा अग्लो लठ्ठे पिङ चीनमा छ । उक्त पिङ जमिनबाट २५ मिटर अग्लो छ । तर जमिनमा २५ मिटर भएपनि कालीगण्डकीको खोच भन्दा माथि सम्म पिङ्गमा मच्चिन सकिने भएकाले पिङ्ग खेल्दा साढे २ सय मिटरबाट जमिनलाई तल देख्न सकिन्छ ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा ब्यबसायिक रुपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको थियो । अब दुई हप्तामा बिश्कै दोस्रो अग्लो बञ्जी र बिश्वकै अग्लो स्विङ पनि सञ्चालनमा आउने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । नेपाल कै एक मात्र स्काई साइक्लिङ पनि सञ्चालनको तयारीमा छ ।