मोतीराम तिमल्सिना,काभ्रे ।
नेपाल उद्योग बाणिज्य संघको आगामी साउन २६ र २७ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य पदमा जिल्ला÷नगर तर्फबाट काभ्रेका उद्योगी ब्यवसायी सुरकृष्ण बैद्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । बैद्य यस अघि पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।
काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका पुर्व अध्यक्ष समेत रहेका बैद्यले पुनः केन्द्रिय सदस्य पदका लागि बरिष्ठ उपाध्यक्ष पदका चन्द्र ढकाल समुहबाट उम्मेदवारी घोषणा गर्नु भएको हो ।
‘तीन वर्ष यो कार्यकालमा महासंघ विद्यान शंशोधनको एजेण्डामै रुमलियो, थप कार्य गर्न सम्भव भएन’–केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले भन्नुभयो–‘समृद्ध देश निर्माणका लागि ढकाल समुहको एजेण्डा कार्यान्वयनका लागि प्यानल नै विजयी हुनु आवश्यक छ ।’ ७ सय ५३ वटै स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँगको समन्वयमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने उदेश्य रहेको छ । त्यसका लागि ढकाल समुह सक्षम रहेको बैद्यले बताउनु भयो ।
उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लाका गौरवका आयोजनाहरुको निरन्तरतामा नीजि क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै सुखी नेपाली समृद्ध नेपाल निर्माण कार्यमा बैद्यको उम्मेदवारीले थप सहजता हुने बताउनु भयो । काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दियेशरत्न शाक्यले जिल्लाको गौरवका लागि बैद्य सहितको प्यानलको विजयी आवश्यक रहेको बताउनु भयो ।
लकडाउनले शिथिल बनेको उद्योग क्षेत्रको विकास र विस्तारका लागि चन्द्र ढकाल समुहको चुनावी घोषणा पत्र महत्वपूर्ण भएको उहाँले बताउनु भयो । कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजुले आर्थिक हबका रुपमा मुलुकको विकासका लागि ढकाल समुहको प्यानल सहित बैद्यले केन्द्रिय सदस्यमा विजयी हुनु पर्ने मत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष प्रकाश मानन्धरले उद्योगी ब्यवसायीहरुको हक हितका लागि ढकाल समुहलाई समर्थन गर्ने संस्थागत निर्णय भएको बताउनु भयो । बैद्य डाईनामिक नेतृत्व भएकाले ब्यवसायीहरुको हक हितका लागि उहाँको विजय आवश्यक रहेकाले तन,मन देखि उहाँलाई सहयोग गर्न आब्हान गर्नु भयो ।
बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, महासचिव कैलाश पलाञ्चोके, कोषाध्यक्ष ग्रुवेन तौजले लगायतले उद्योगी ब्यवसायीहरुको एकता आवश्यक रहेको बताउँर्दै मुलुक समृद्ध बनाउन ढकाल समुहले अघि सारेका घोषणापत्रको विजय हुनु पर्ने बताए ।
वर्तमान कार्यसमितको कार्यकारी सदस्य रहेका बैद्यले नेपाल सरकारले औद्योगिक क्षेत्र खोल्नुपर्ने बताउनुभयो । उहाँले उद्योगीले नै जग्गा खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने भएकाले सरकारले औद्योगिक क्षेत्र तोकेर त्यहाँ भौतिक संरचना बनाएर दिनुपर्ने नयाँ नेतृत्वको मुख्य मुद्धा भएको बताउनुभयो ।
अशक्त परिवारलाई सहयोग

काभ्रे उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्र्तगत अशक्त परिवारलाई आर्थिक सहयोग गरेको छ भने केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बैकल्पिक शिक्षाका लागि आवश्यक पर्ने मोवाईल फोन हस्तान्तरण गर्नु भएको छ । बनेपा ६ बुडोलमा डेरा गरी बस्ने लक्ष्मी कार्की १२ वर्ष अघि रुखबाट लडेर कम्मर भाँचिए पछि उपचारार्थ रहँदै आउनु भएको थियो ।
आर्थिक अभाव भए सँगै दुई सन्तान छाडेर उहाँका श्रीमानले अर्काे विवाह गर्नु भयो । कक्षा ८ मा अध्ययन गर्ने सविन कार्की र उनकी दिदी कक्षा १० मा अध्ययन गर्ने सविना कार्कीलाई थप सहयोग जुटाउन उद्योग बाणिज्य संघले १० हजार आर्थिक सहयोग गरेको छ । बनेपामा रहेको एविएम स्कुलले विद्यालय तहको शिक्षा निशुल्क गर्ने प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।थप शिक्षाका लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सहयोग गर्ने अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य बैद्यले बताउनु भयो ।
कार्कीको उपचारका लागि स्पाईनल इन्जरीमा निशुल्क गर्ने ब्यवस्थाका लागि प्रकृया शुरु भएको छ । सोहि कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघले अध्यक्ष प्रकाश मानन्धर मार्फत १० हजार, बागमती टिपर ब्यवसायी संघको तर्फबाट अध्यक्ष प्रेम लामाले १० हजार १ सय, पतञ्जली योग समिति काभ्रेबाट अध्यक्ष दमनकुमार श्रेष्ठले १० हजार ५ रुपैया, अमेरिकामा बसोबास गर्ने जयन्ती तौजलेले भाई ग्रुवेन तौजले मार्फत पठाउनु भएको २० हजार रुपैया, काभ्रे पुण्यवती यातायात प्रालीका तर्फबाट अध्यक्ष राजेशसुन्दर सैजुले १० हजार, काभ्रे बस प्रालीका तर्फबाट अध्यक्ष वर्ण शाक्यले १० हजार, होलसेल ब्यवसायी संघका तर्फबाट शम्भु पौड्यालले ११ हजार, होटल ब्यवसायी महासंघका तर्फबाट कृष्ण श्रेष्ठले ६ हजार र पतञ्जली योग समितिका सरिता शाक्यको तर्फबाट १० हजार रुपैया लक्ष्मी कार्कीका छोरा सविन र छोरी सविनालाई हस्तान्तरण गरिएको छ । लक्ष्मी कार्की ओछ्यानमै हुनुहुन्छ । ब्यवसायीहरुले उहाँहरुको परिवारलाई खाद्यान्न सहित अन्य सहयोग गर्ने बताउनु भएको छ ।











प्रतिक्रिया