बाढी र पहिरोमा परी ९ जनाको मृत्यु

0
Shares

काठमाडौं । मुलुकका बिभिन्न भागमा परेको अविरल बर्षाका कारण गएको बाढी र पहिरोमा परी जनाको मृत्यु भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१० गाउँस्वारा बस्ने ५२ वर्षीया माया सारूको घरमा बुधबार बिहान पहिरो झर्दा माया मृत अवस्थामा फेला परेकी छन् ।
पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणी सारूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ ।
पहिरोले उनको घर पूर्णरुपमा नष्ट भएको छ । प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानी नागढुङगास्थित भिरबाट पहिरो खस्दा सोही गाउँपालिका–३ दाना काभ्रे बस्ने झलक पुनको पुरिएर मृत्यु भएको छ । साथै पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ ।
मुस्ताङतर्फ पैदल जाँदै गरेका मानिसहरु समेत पहिरोमा परेको हुनसक्ने भएकाले सिमा प्रहरी चौकी भुरुङतातोपानीबाट खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ मोदिडाँडा बस्ने तेजकुमार बराईलीको कच्ची घरमा अविरल वर्षाको कारण मंगलबार रातिदेखि पहिरो खस्दा घरको पर्खाल भत्की पाहुना आएका मेचीनगर नगरपालिका–९ बस्ने टेकबहादुर बिकको छोरा विवेक दर्नालको पुरिएर मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसिबि र स्थानीयको सहयोगमा उनको शव बाहिर निकालिएको छ।
महोत्तरीको बलबा नगरपालिका–११ भगवतीपुरस्थित रातु खोलाले मंगलबार बिहानदेखि बगाई बेपत्ता भएका भंगाहा नगरपालिका–६ बस्ने बीरेन्द्र कापड सोही नगरपालिका–४ स्थित उत्तरबारी टोलमा मृत अवस्थामा फेला परेका छन् । जनकपुरबाट साईकलमा घर संग्रामपुर जाने क्रममा रातु खोला तर्दा खोलाले बगाएका उनलाई खोजी गर्ने क्रममा शव फेला परेको हो ।
रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही बस्ने रोहित थारु कपिलवस्तु बाणगंगा नगरपालिका–१० भेलैयास्थित कोठी खोलामा डुबेर मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनी रुपन्देही(कपिलवस्तुको सिमानामा पर्ने कोठी खोलामा गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–४ सितलास्थित तुरिया खोलामा डाईभर्सन गरेको तालमा मंगलबार दिउँसो हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ ।