प्रचण्डलाई गलाउने ओलीको रणनीति


नेपाल समाचारपत्र, काठमाडौं

पार्टीभित्रको पदीय लडाइँका कारण एक महिनादेखि नेकपा आन्तरिक विवादमा रुमलिँदै आएको छ । कोरोना महामारी र अविरल वर्षासँगै आएको बाढीपहिरोलाई नै ओझेलमा पार्ने गरी नेकपाभित्र एक महिना अघिबाट सुरु भएको आन्तरिक विवाद अझै मिल्न सकेको छैन । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अनौपचारिक सहमति भए पनि उक्त सहमतिले मूर्त रुप लिन सकेको छैन ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्नुभएका प्रचण्डले आफूले कार्यकारी अध्यक्षको जिम्मेवारी पाए प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिन सहमत हुनुभएको बताइएको छ ।

वैचारिक र राजनीतिक विवाद नभई पदीय विवाद भएका कारण विवाद समाधानका लागि आगामी मंसिरमा पार्टीको महाधिवेशनमार्फत आफू पार्टी अध्यक्ष छोड्न तयार रहेको प्रस्ताव प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राख्नुभएको छ । तर प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

गत असार १० गतेबाट शुरु भएको नेकपाको स्थायी समिति बैठकमा अचानक प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि शुरु भएको विवाद समाधान हुन सकेको छैन । ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच ठोस सहमति हुन नसकेपछि गत शनिवार राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष दुवै अध्यक्षले संयुक्त भेटघाट गर्नुभएको थियो । यसअघि पनि राष्ट्रपतिकै समन्वयमा प्रधानमन्त्री ओली प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन तयार हुनुभएको थियो । तर सहमति भएको लामो समय बितिसक्दा समेत प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको भूमिका भने पाउन सक्नुभएको छैन ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र वैचारिक र राजनीतिक विवाद नरहेकाले पदीय विवाद दुई जना अध्यक्षले मिलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरानाको त्रास छ, बाढीपहिरोको जोखिम छ, भारतसँग वार्ता गर्ने विषय ओझेलमा पारेर पदका लागि पार्टीभित्र विवाद गर्नु जनतालाई निराश बनाउने कुरा हो ।’

दुई अध्यक्षबीच सहमति कायम गरेर जारी स्थायी समिति बैठकलाई समापन गर्नुपर्ने बताउँदै नेता पौडेलले अहिलेको विवाद समाधान गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । ‘पार्टी एकता गर्ने हिक्मत गर्ने दुई जना अध्यक्षले अहिलेको विवाद पनि समाधान गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो– ‘दुवै जना अध्यक्षलाई भेटेर हामीले धेरै ढिला नगरी छिट्टै निकास दिन भनेका छौं ।’

ओली र प्रचण्डबीच अनौपचारिक रुपमा सहमति भए पनि निर्णय प्रक्रियामा प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि सहभागी गराउने अडान राख्दा कुरा मिल्न नसकेको बताइएको छ । ओलीले दुई अध्यक्षले निर्णय गरेर जानकारी गराउनुपर्ने प्रस्ताव गरे पनि पछिल्लो समयमा नेपाल पक्षसँग समीकरण बनाउनुभएका प्रचण्डले नेपाललाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएको बालुवाटार स्रोतले बताएको छ । ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा स्थायी समितिको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।