मोलबीद्वारा मदरसामा अध्ययनरत छात्रामाथि पटक–पटक यौन दुव्र्यवहार


नेपाल समाचारपत्र, विराटनगर

विराटनगर–८ अशोक चोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई ‘बालयौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय मोलबी अमिरुदिन भन्ने महमद अमिर मियाँविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

पक्राउ परेका अमिर सोही मदरसका मोलबी हुन् । प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो । ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा अदालतमा अभियोग दर्ता भएपछि मंगलबारदेखि बयान शुरू भएको अदालतमा स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिनुभयो ।

मोलबीले गत माघ ७ र ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । छात्राहरूले मोलबीविरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । घटना भएको ६ महिनापछि यौन दुव्र्यवहार आरोप लागेको मोलवी अमिरले मोरङ प्रहरीमा आत्मसमर्पण गरे ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । माघ ८ गते बुधबार, यौन दुव्र्यवहार भएपछि पीडित छात्रा भोलिपल्ट मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलबीले गरेको दुव्र्यवहारको विषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

मोलवी अमिरुद्दिनले यसअघि गएको माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ वर्षीय छात्रालाई समेत यौन दुव्र्यवहार गरेको आरोप छ । दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्दिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको अभियोगपत्रमा उल्लेख छ ।

२०६४ सालदेखि सो मदरसामा अध्यापन गराउँदै आएका मोलबी अमिरुद्दिनले छात्राहरूलाई यसअघि पनि पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयको भनाइ छ ।

मोलवी अमिरुदिनले दुई जना छात्रालाई बालयौन दुव्र्यवहार गरेको ठहर भए मुलुकी अपराध संहिता–२०७४ को दफा २२५ को उपदफा (१) र (२) बमोजिम कसूर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका अभियुक्त महमद अमिर मियाँलाई हदैसम्मको कारबाहीको माग राख्दै पीडित परिवार र आफन्तले अदालत परिसर बाहिर प्रदर्शनसमेत गरेका छन् ।