पुल बगाउँदा आवागमन अवरुद्ध


दयाराम पण्डित, बाजुरा

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले साफें–मार्तडी सडक खण्डअन्तर्गत बूढीगंगा नगरपालिका–२ घट्टेखोलाकोे पक्की पुल खोलाले बगाएको छ ।

यस सडकअन्तर्गत धेरै ठाउँमा पहिरो गएकाले यातायात पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुुभएको छ । घट्टेखोलाले बगाएर ल्याएका ढुंगामुडा अड्किएपछि बाढी ताँप्रीसेरा बजारमा पस्दाको लाखौंको क्षति भएको स्थानीय वसन्त थापाले जनाउनुभयो । पहिरोका कारण गोरेटो बाटो पनि जोखिममा छन् । यातायात अवरुद्ध भएपछि बाजुरामा खाद्यन्नलगायत दैनिक उपभोग्य सामानको हाहाकार हुनेमा स्थानीय चिन्तित छन् ।

बाढी–पहिरोले बूूढीगंगा नगरपालिकाकोे कुँडी, बजेडी, नडाङ, मुसी ताँप्रीसेराका पूरै बस्ती विस्थापित भएका छन् । पानीमूल खोला र ठाडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका खेतीयोग्य जमिन बगरमा परिणत भएको बूढीगंगा नगरपालिका–२ का वडाध्यक्ष हीरालाल थापाले बताउनुुभयो ।

अविरल वर्षाले बजेडीका ६ परिवार विस्थापित भई छिमेकीको घरमा सरेका छन् । पहिरोले पूरै गाउँ जोखिममा रहेको वडाध्यक्ष थापाले जानकारी दिनुुभएको छ । त्यसै गरी नडाङका १० घर–परिवार शिवशंकर प्राविमा बसेको स्थानीय रमानन्द उपाध्यायले बताउनुुभएको छ ।

त्यसै गरी, ओम्कोटमा पहिरो जाँदा राष्ट्रिय प्रसारण ग्रिडको पोल बगाएको छ । केही पोल बूढीगंगा नदीमा डुुबेका छन् । निरन्तर पहिरो जाने क्रम जारी रहेकाले के–कति क्षति भयो यकिन जानकारी नआएको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्र प्रमुख महेशचन्द्र भट्टले जानकारी दिनुभयो ।

‘माटो परीक्षण गर्दा बल्देदेखि मार्तडीसम्मको सडक झन् खतरा देखिन्छ । साँफे मार्तडी सडक बाह्रैमास सञ्चालन गर्न एलान्म्यान्ट परिवर्तन गर्नैपर्छ ।’ –भौतिक पूर्वाधार निर्माण कार्यालय अछाम बाजुरा प्रमुख जंगबहादुर थापाले भन्नुुभयो ।