बेपत्ता खोजी गर्न गएको प्रहरी रित्तै फर्कियो


इन्द्र गिरी, संखुवासभा

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा गएको पहिरोमा परी बेपत्ताको खोजी गर्न जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली सदरमुकाम खाँदबारी फर्किएको छ । पहिरोमा परी ५ घरका ११ जना बेपत्ताको सात दिनसम्म लगातार खोज्दा पनि नभेटिएपछि सुरक्षकर्मीको टोली फर्किएको प्रहरीले जनाएको छ ।

गएको असार २८ गते अविरल वर्षाका कारण सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा गएको पहिरोले ९ घर बगाएको थियो भने पहिरोमा परी ११ जना बेपत्ता भएका थिए । उनीहरूको खोजी गर्न जिल्ला सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको सुरक्षाकर्मीको टोली एक साता खोजी गर्दा पनि केही फेला पार्न नसकेपछि फर्किएको संखुवासभाको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले जिल्लाबाट खोजीका लागि गएको नेपाल प्रहरी १५, सशस्त्र प्रहरी १५ र बराह दल गुल्मका ३० जना गरी कुल ६० जनाको सुरक्षाकर्मीको टोली जिल्ला फर्किए पनि स्थानीय गाउँले र ताम्कु र बुधबारेका प्रहरी चौकीका गरी १३ जना प्रहरीको टोलीले अहिले पनि खोजी र निगरानी गरिरहेको प्रजिअ आचार्यले बताउनुभयो ।

पहिरोले ९ घर बगाएको छ भने पहिरोबाट स्थानियद्वारा उद्धार गरिएका वर्ष ७९ का गोवासिंह राईको खाँदवारी अस्पतालमा उपचार भइरहेको छ । उनकी श्रीमति वर्ष ६० कि फुलमाया र छोरी वर्ष १४ कि भीमसरी राई र भीमबहादुर राई सामान्य घाइते भएका थिए ।