पृथ्वी राजमार्ग अवरुद्ध, दुई घर बगायो, १४ घर–परिवार विस्थापित


मिला दरै, तनहुँ

अविरल वर्षाका कारण आएको पहिरोले मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा, मार्कीचोक र बन्दीपुर गाउँपालिका–१ विमलनगर, डुम्रे, नाहालामा राजमार्ग भाँसिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अन्य स्थानका सडक मर्मत गरिएको भए पनि ऐनापहराको ढुङ्गा फाल्न भने सकस भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार मंगलबार साँझसम्ममा ऐनापहराको सडकमा खसेको ढिस्को फालिएपछि भने राजमार्ग सुचारु हुनेछ ।

त्यस्तै बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित रिमाल्नी, नाहाला, याम्पामा राजमार्ग भाँसिएको थियो । त्यस क्षेत्रमा राजमार्गमा भने मर्मत गरिसकिएको उहाँले बताउनुभयो । व्यास नगरपालिकाको मादीपुल नजिक, म्याग्दे गाउँपालिका–१ गुणादीअन्तर्गतको सडक भने मंगलबार सफा गरिएपछि सवारी चलेका छन् । व्यास नगरपालिका–१ खकौलीस्थित दमौली–छाब्दीमार्गमा सडक भासिएको छ । त्यस क्षेत्रबाट आवात–जावातका लागि वैकल्पिक बाटोको व्यवस्थापनमा लागिरहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

‘दमौलीसँग छाब्दीका सर्वसाधारण आवागमनमा समस्या भएकाले वडा कार्यालयलाई वैकल्पिक बाटो व्यवस्थापन गर्न निर्देशन दिएको छु, छिट्टै सडकको व्यवस्थापन हुन्छ ।’ –न्यौपानेले भन्नुभयो ।
वर्षाका कारण जिल्लामा धेरै ठाउँमा घरसमेत भत्किएको छ । बन्दीपुर गाउँपालिकाअन्तर्गतका धेरै घर भत्किएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो । जिल्लामा विस्थापितको संख्या भने आउन बाँकी रहेको प्रजिअ अधिकारीले बताउनुहुन्छ ।

मादीसेती नदीले चार घर बगायो
बन्दीपुर गाउँपालिका–६ खहरे थुमथुमेस्थित नाल्दीपुल नजिकै आएको पहिरोले चार घरमा क्षति पु¥याएको छ । त्यस क्षेत्रमा सञ्चालित केही पसलमा क्षति पुगेको स्थानीय नवराज गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार त्यहाँको आठ घरमध्ये तीन घरमा पूर्णरूपमा क्षति पुगेको छ भने भौतिक सामग्रीहरू नदीले बगाएको छ । पहिरो खस्न रोकिएको र वडा कार्यालयले उद्धार गरेको सामाजिक अभियन्ता सिद्धान्त गर्जा मगरले जानकारी दिनुभयो ।

त्यस्तै बन्दीपुर गाउँपालिका–१ नाहालाका सुरेश र अर्जुन अधिकारीको घरमा पहिरोले पूर्णरूपमा क्षति पुगेको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । पशुचौपायको भने स्थानीय तथा जनप्रतिनिधिले उद्धार गरिएका छन् । उहाँका अनुसार डुम्रेलगायत ३५ जना विस्थापित भएका छन् ।

बन्दीपुरका १४ घर–परिवार विस्थापित
पहिरोका कारण बन्दीपुरका १४ घर–परिवार विस्थापित भएका छन् । बन्दीपुर–१ र २ नम्बर वडाका चार÷चार र ५ नम्बर वडाका दुई घर परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा धेरै क्षति पुगे पनि वास्तविक विवरण अझै आउन बाँकी रहेको छ ।

पालिकावासीलाई व्यवस्थापनमा लागेकाले केही दिन लाग्न सक्ने उहाँले बताउनुभयो । यसअघि पनि जिल्लामा मानवीय क्षति पु¥याएको थियो । तर, मंगलबार भने मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको छ ।