चिनियाँ ठेकेदारको गाडी सँगै बाढीले दुई वटा पुल बगायो


ताप्लेजुङ, (नेस)

अविर वर्षसँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सोमबार राति चिनियाँ ठेकेदारको गाडीसँगै दुईवटा पुल बगाएको छ । एउटा पक्की पुल र अर्को काठको पुल बाढीले बगाएको हो ।

टिप्ताला भञ्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले उक्त गाडीमा एस्काभेटरलगायत सामग्री ल्याएका थिए । तर, सडक अवरुद्ध भएपछि गाडी त्यहीं छाडेर चिनियाँ ठेकेदार चीन गएका थिए । बाढीले बगाएपछि गाडी कामै नदिने अवस्थामा पुगेको फक्ताङलुङ गाउँपालिका–७ का वडा अध्यक्षले जानकारी दिनुभयो ।

पुल गत वर्ष मात्रै १२ लाख रुपियाँमा बनाइएको थियो । मिक्वाखोला–५ पापुङ जाने काठको पुल भने दुई वर्षअघि २ लाख रुपियाँमा बनाइएको वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङले बताए ।