युरोपेली संघको २१ खर्ब डलरको बजेट


ब्रसेल्स,(एजेन्सी)

चार दिन देखि लगातार कोरोना उत्तरार्ध अर्थतन्त्रबारे छलफल गर्दै आएका युरोपेली युनियन ( इयु) का नेताहरुले लामो विवाद र बहस पश्चात अन्ततः मंगलवार २१ खर्ब अमेरिकी डलरको वरावरको बजेट पारित गर्न सहमति जनाएका छन् । यस बजेटसँगै कोरोनाभाइरसका कारण संकटमा परेको युरोपेली अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान प्याकेज पनि स्वत पारित भएको छ ।

  •  इयुमा आबद्ध सत्ताइस मुलुकका सरकार प्रमुख सहभागी रहेको ब्रसेल्स शिखर बैठकमा कोभिड १९ का कारण सिर्जना हुनसक्ने स्वास्थ्य एवं आर्थिक पक्षमाथि पनि व्यापक विचारविमर्श भएको होे । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले शिखर बैठकमा भएको सहमति ऐतिहासिक रहेको बताउँदै राहत प्याकेजमा व्यवस्था गरिएको अनुदान र ऋण सहयोगले युरोपेली मुलुकबीचको ऐक्यबद्धतालाई अझ सुदृढ बनाउन सहयोग पु¥याउने विचार प्रकट गरेका छन् ।
  • युरोपेली परिषदले तयार पारेको ७ खर्ब ५० अर्ब युरोको एउटा आर्थिक सहायता प्याकेजलाई पनि बैठकले अनुमोदन गरेको छ । यसलाई विशेष गरी कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुकलाई अनुदान तथा ऋण दिन प्रयोग गरिने बताइएको छ ।
  •  यसैबिच जर्मन चान्सलर एन्जेला मर्केलले शिखर बैठकमा आगामी सात वर्षका लागि युरोपेली संघको आर्थिक आधार तयार पार्न बैठकले सफलता हासिल भएको बताएकीछन् ।
  • युरोपेली संघका पहिलेदेखि नै सबैभन्दा शक्तिशाली र प्रभावशाली ठानिएका जर्मनी र फ्रान्सले यसपटकको मध्यस्थता वार्तामा पनि निर्णायक भूमिका निर्वाह गरेका छन् । युरोपेली युनियनका केही राष्ट्रले प्रस्तावित आर्थिक पुनरुत्थान प्याकेजमा देखाएका सरोकारलाई पनि यी दुई राष्ट्रले समाधान गरेर पुनः आफ्नो उपस्थिति बलियो भएको प्रमाण दिएको बताएका छन् ।
  •  युरोपेली संघ आयोगका अध्यक्ष उर्सुला भोन डर लियेनले पनि युरोपेली मुलुकको आर्थिक पुनरुत्थानका लागि निकै सकारात्मक प्रस्ताव पारित भएको प्रतिक्रिया दिएकीछन् ।