खोला–खहरेको बाढीले भक्तपुर जलमग्न


पुष्करराज बुढाथोकी, भक्तपुर

हनुमन्ते नदी र अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा भक्तपुरको वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । घरमा हनुमन्ते पस्दा भुइँतलामा सामानहरु डुबाएका छन् । बाढी बस्तीमा पस्दा बराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिनुभयो ।

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धि स्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिर, सँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल र यहाँका केही घरहरु डुबानमा परेका छन् ।

डा. इवामुरा मेमोरियल अस्पताल पनि डुबानमा परेको छ । भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पु¥याएको जानकारी दिनुभयो । हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।

यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका आंशिक भूभाग डुबानमा परेको छ । बालकोट रेडक्रस पछाडि, कौशलटारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका–२ का वडा सदस्य सुवास कार्कीले जानकारी दिनुभयो ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यस वर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अवरोध पु¥याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन् ।

बालकोट–२ हाइटका बस्तीसमेत डुबानमा परेको छ । बस्ती विकाससँगै पानीको निकास थुनिएपछि बंगलामुखी मार्गको बाटोमुनिका बस्ती डुबानमा परेको छ । उता, गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिनुभयो । कौशलटार इङ्लिस स्कुललगायत आसपासका बस्ती डुबानमा परेको छ ।

त्यस्तै सूनपा–५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तल कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिनुभयो । यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला जलमग्न भएको उहाँले जानकारी दिनुभयो ।

बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौंको भौतिक क्षति भएको प्रहरीको भनाइ छ ।