अझै तीन दिन मौसम सक्रिय हुने


नेपाल समाचारपत्र, काठमाडौं

मनसुन सक्रिय भएसँगै मुलुकभर धनजनको तीव्र क्षति भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएपछि जेठ ३० यता मुलुकभर पहिरोमा परी १ सय ११ बढीले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् ।

अविरल वर्षापछि आएको बाढीले ३ जनाको मृत्यु, ५ जना बेपत्ता र १ जना घाइते छन् । देशभर मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक र नेपालतिर सर्ने क्रमले गर्दा बदली भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले गएको आइतबारदेखि लगातार ६ दिनसम्म पानी पर्ने अनुमान गरिएको छ ।

अहिलेसम्म क्षति पुगेको मध्येमा सिन्धुपाल्चोकलगायत पहाडी भू–भागमा रहेका छन् । वर्षाले गर्दा मुख्य नदि तथा खोलामा समेत बहाब बढी त्यस आसपासका बस्ती डुबानमा पारेको छ । त्यस्तै मुख्य राजमार्ग, सडक, विद्युत्मा व्यापक क्षति पु¥याएको छ ।

काठमाडौं उपत्यकामै हनुमन्ते खोलाको बहाब बढ्दा भक्तपुरको राममन्दिर, बाराहीस्थान, राधेराधे, बालकोट लगायतका स्थानका बस्तीमा बाढी पसेको छ । ललितपुरको कर्मनाशा खोलाको बहाब बढी महालक्ष्मी नगरालिका क्षेत्रमा क्षति पु¥याएको थियो । सोही खोलाको भेल पस्दा ललितपुरकै किस्ट अस्पतालले आकस्मिकबाहेक सेवाबन्दगर्नु प¥यो ।

मंगलबार नारायणी नदीको बहाव उच्च हुँदा सुस्ताकादुई सय बढी घर डुवानमा परे । पहिरो खस्दा पृथ्वीराजमार्ग, बीपी राजमार्ग अवरुद्ध हुनुका साथै पुलसमेत बगाएको छ ।

यता जल तथा मौसम विज्ञान विभागले हिउँद र प्रिमनसुनमा बढी वर्षा भएकाले मनसुनमा बाढीपहिरो बढेको जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन शुरु हुने बित्तिकै ठाउँठाउँमा पहिरोका घटनाहरु भएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मंगलबार उहाँले साउन ९ गते शुक्रबारसम्म वर्षा हुने र यसपछि क्रमिक रुपमा कम हुँदै जाने बताउनुभयो । वर्षाका कारण पानीको बहाव मुख्य नदी तथा खोलामा पर्ने भएकाले त्यस आसपासका बस्तीमा जोखिम हुने भन्दै सुरक्षित रहन उहाँले आग्रह गर्नुभएको छ ।