समाचार प्रभाव : द्वन्द पीडित सुभद्रालाई घर हस्तान्तरण


कृष्णउदास खनाल,हेटौंडा ।

नेपालमा गणतन्त्र ल्याउनु भन्दा अघिका जनआन्दोलनमा चार वटा छोरा गुमाउनु भएकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरको सुकुम्बासी टोलकी ७० वर्षीया शुभद्रा दर्नाललाई स्थानीय सरकारले चार कोठाको घर निर्माण गरेर आज औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।

उहाँले झेल्नु भएको पीडा नेपाल समाचारपत्रमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रतिबद्धता जनाउनु भए अनुसार आज घर निर्माण सम्पन्न गरी घरको पूर्जा र साँचो हस्तान्तरण गर्नु भएको हो । हेटौंडा उपमहानगरपालिकाले बिभिन्न आन्दोलनमा चार छोरा गुमाउनुभएकी दर्नाललाई घर निर्माण गरेर मंगलबार हस्तान्तरण गरिएको हो ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले झुप्रो घरमा वस्दै आउनुभएकी द्वन्द पीडित आमालाई घर प्रवेस गराउनुभयो ।उपमहानगरपालिकाले स्वर्गिय पुस्पलाल श्रेष्ठ र वीपी कोइरालाको स्मृतिको अवसर पारेर द्वन्द पीडित दर्नाललाई घर हस्तान्तरण गरेको हो ।

नेपाल समाचारपत्रमा आमा सुभर्दा दर्नालको पीडा प्रकाशित भएपछि मेयर महतको अगुवाइमा बृद्ध दर्नाललाई घर निर्माण गरेर आजै मेयर महतले उद्घाटन गर्दै घरको साँचो समेत हस्तान्तरण गर्नुभयो । घर निर्माण अघि पटक पट्क उपमहानगरपालिकाले खाद्यान्नका सामाग्री पनि उहाँलाई सहयोग गरेको छ । करिव ११ लाख रुपैयाँ लागतमा घर, शौचालय समेत निर्माण गरेर हस्तान्तरण गरिएको हो । आफूले जीवनमा काम गरेको मध्यमा जनआन्द्योलनमा चार छोरा गुमाउनुभएकी आमालाई घर वनाएर हस्तान्तरण गर्न पाउँदा सवैभन्दा खुसी भएको मेयर महतले वताउनुभयो ।

जनआन्दोलनमा चार छोरा गुमाएकी दर्नाललाई बिहानबेलुका हातमुख जोर्न पनि समस्या रहेको मात्र होइन, घामपानी दुवै छिर्ने टहरोमा बस्दै आउनु भएको थियो । उहाँ रक्तअल्पता, दमको रोग लगायतका समस्यामा रहनुभएकी उहाँ आज नयाँ घरमा वस्न पाएकोमा धेरै खुसी हुनुभयो । दुःख र समस्याले पीडित वनेकी दर्नालले आफुले स्थानीय सरकारको प्रमुख मेयरलाई छोराको रुपमा प्राप्त गरेको वताउनुभयो ।‘२०४८ वैशाख २९ मा चुनाव भएलगत्तै जेठ ५ गते उनका दुई छोरा जेठा र माहिला अर्थात् काजी र भक्त दाजुभाइ बजार निस्केका थिए ।

अहिलेसम्म फर्केका छैनन् । उनीहरूको अत्तोपत्तो पनि छैन । काजी र भक्त बहुदवादी मात्र थिएनन् आन्दोलनमा पनि सहभागी थिए । यसैगरी २०६० पुस २५ मा काइलो छोरा रञ्जित र पुस २८ मा कान्छो छोरा अमृत दर्नाललाई माओवादीको आरोपमा काठमाडौं कपनबाट सुरक्षाफौजले पक्राउ गरी बेपत्ता पा¥यो । अहिलेसम्म पनि उनीहरूको अत्तोपत्तो छैन । मुलुक परिवर्तनका लागि चार छोरा गुमाएकी शुभद्रासँग अहिले बेपत्ता पारिएका कान्छो छोराको छोरी अस्मिसा छिन् ।

बाबुलाई सुरक्षाफौजले पक्राउ गर्दा उनी एक वर्षकी मात्र थिइन् । ‘उनी जस्ता आमाहरूले जन्माएका छोराछोरीले बलिदान नदिएको भए मुलुकमा राजनीतिक परिवर्तन सम्भव थिएन । घर हस्तान्तरण कार्यक्रममा हेटौंडा ९ का वडाअध्यक्ष लक्ष्मण भण्डारी, स्थानीय स्वागत टोलविकास संस्थाका सचिव लक्ष्मी वस्नेत लगायतकाले घरै उपलब्ध गराएकोमा स्थानीय सरकारको प्रसंसा गरेका थिए ।

आमालाइ बाचुन्जेल सम्म छोराको रुपमा हेर्ने मेयर महतको प्रतिबद्धता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिभिन्न आन्दोलनमा चार छोरा गुमाएकी आमालाई हेरविचार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरको सुकुम्बासी टोलकी ७० वर्षीया शुभद्रा दर्नाललाई स्थानीय सरकारको रुघर निर्माण गरेर हस्तान्तरण गर्दै मेयर महतले भावुक हुँदै आफुले छोराका रुपमा हेर्ने वताउनुभयो ।

अरु द्वन्द पीडित र उहाँको पीडा निकै फरक रहेको वताउँदै मेयर महतले भन्नुभयो(‘मैले जानकारी पाए लगतै देखि दशैमा खानेकुरा, लत्ता कपडा दिने, पटक पटक खाद्यान्नका सामाग्री दिने गर्दै आएको र अव पनि आमा बाचुन्जेल सम्म छोराको रुपमा सहयोग गर्न तयार छु ।’ आफु मेयरको पदमा हुँदा वा नहुँदा पनि आमालाई हेरविचार गर्ने उहाँले वताउनुभयो ।

सवैले विगतलाई विर्सन नहुने वताउँदै उहाँले भन्नुभयो ‘म २० वर्ष सम्म जनप्रतिनिधि नहुँदा पनि मिडियाले लेखेको समाचारलाई आधार वनाएर विद्यालय, छात्रावास निर्माण लगायतका काम गर्दै आए ।अव पनि पदमा हुँदा वा नहुँदा पनि सामाजिक काम गर्छु ।’ कुनैपनि अप्ठेरो पर्दा आफुलाई सम्झनका लागि मेयर महतले आग्रह गर्नु भएको छ ।