गोल्डेन फुट अवार्डको टप–१० मनोनयन सार्वजनिक

0
Shares

पेरिस । प्रतिष्ठित गोल्डेन फुट अवार्डका लागि टप–१० मनोनयन सूची सार्वजनिक गरेको छ ।
आयोजकले वर्ष २०२० मा दिइने अवार्डका लागि आज टप–१० मा पर्ने अन्तिम मनोनयन सूची सार्वजनिक गरेको हो । जसमा बार्सिलोनाका लिओनल मेसी, जेरार्ड पिके र आर्टुरो भिडाल, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र जर्जियो चिल्लीनी, पेरिस सेन्ट जर्मनका नेयेमार, बार्यन म्युनिखका रोबर्ट लेवानडोस्की, रियल मेड्रिडका सर्जियो रामोस, लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका सर्जियो अगुएरा परेका छन् ।
यो अवार्ड हरेक वर्ष कुनै पनि खेलाडीको व्यक्तिगत तथा टिमको सफलतालाई आधार मानेर दिइन्छ । साथै, खेलाडीको निजी व्यक्तित्वलाई पनि यस अवार्डका लागि आधार मान्ने गरिन्छ । यो अवार्ड कम्तीमा २८ वा सोभन्दा बढी उमेरका खेलाडीलाई मात्रै दिइन्छ । यसपटक यो अवार्डका लागि रियल मड्रिडका रामोस र बार्यनका लेवान्डोस्कीलाई प्रमुख दाबेदार मानिएको छ ।
यो अवार्ड एकपटक जितिसकेको खेलाडीलाई दोस्रोपटक दिइँदैन र मनोनयनमै राखिँदैन । यो अवार्ड हालसम्म, मेसी, रोनाल्डोजस्ता सुपरस्टार खेलाडीले पाएका छैनन् । गत वर्ष यो अवार्ड रियल मड्रिडका लुका मोड्रिक र त्यसअघि पिएसजी तथा उरुग्वेका इडिन्सन काभानीले जितेका थिए ।
एन्टोनियो क्यालेन्डोको परिकल्पनामा यो अवार्ड सन् 2003 देखि प्रदान गर्न थालिएको हो । विश्वभरि जुनसुकै देशका फुटबल समर्थकहरुले पनि मनोनयनमा परेका मध्ये एक खेलाडीलाई डब्लुडब्लुडब्लु.गोल्डेनफुट.कम मा भोट गर्न सकिने ब्यवस्था गरिएको छ । उक्त अवार्ड मोनाकोका युवराज अल्बर्ट दोस्रोले प्रदान गर्नेछ ।
हालसम्मका गोल्डन फुट अवार्ड विजेता फुटबलर :
२००३ रोबर्टो बाजियो, इटाली २००४ पाभेल नेदभेद, चेक रिपब्लिक २००५ आन्द्रिय सेभ्चेन्को, यूक्रेन २००६ रोनाल्डो, ब्राजिल २००७ अलसान्द्रो डेल पिएरो, इटाली २००८ रोबेर्टो कार्लोस, ब्राजिल २००९ रोनाल्डिन्हो, ब्राजिल २०१० फ्रान्सिस्को टोट्टी, इटाली २०११ रयान गिग्स, वेल्स २०१२ ज्लाटन इब्राहिमोभिच, स्वीडेन २०१३ डिडियर ड्रोग्बा, आईभोरी कोस्ट २०१४ आन्द्रेस इनेस्टा, स्पेन २०१५ सामुएल ईटो, क्यामरून २०१६ गियानलुगी बुफोन, इटाली २०१७ इकेर कासिलास, स्पेन २०१८ एडिन्सन काभानी, उरुग्वे २०१९ लुका मोड्रिक, क्रोएसिया