पर्वत कारागार भत्केपछि महिला बन्दीलाई बागलुङ र म्याग्दी सारियो


न्युज अफ नेपाल,पर्वत ।

दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागारको मुख्य सुरक्षा पर्खाल भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । बन्दीगृहको मुख्य पर्खाल १० मिटर भन्दा बढी भत्किएको छ । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई बागलुङ्ग र म्याग्दी स्थानान्तरण गरिएको छ ।

महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । बागलुङ्ग कारागारमा ५ जना र म्याग्दी कारागारमा २ जना महिला बन्दीलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । कारागार ब्यबस्थापन बिभागको सहमतिमा बन्दी स्थानान्तराण गरिएको हो ।

निर्माणाधिन महिला बन्दी गृह एक दशकदेखि अलपत्र

महिला बन्दीगृह तर्फको पर्खाल भत्किएर बन्दी स्थानान्तरण गर्नु परेको छ तर निर्माणधिन धौलागिरीकै पहिलो महिला बन्दी गृह आर्थिक अभावमा अलपत्र बनेको छ ।निर्माण सुरु भएको एक दशक बितेपनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको छ । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये तत्कालीन समयमा १४ लाख मात्र निकासा भएको थियो ।

२५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये आर्थिक बर्ष २०६६/६७ मा १४ लाख मात्र विनियोजन भइ पर्खाल लगाउने सम्पन्न भएको थियो ।अहिले निर्माणाधिन महिला बन्दी गृहमा झारजंगल हुर्किएको छ भने उक्त पर्खाल समेत जीर्ण बनेको छ । ०६६ माघबाट निर्माण सुरु गरिएको बन्दी गृहको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन ।

एक बर्षभित्रै निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएको भएपनि अहिले बजेट नआउँदा अधुरो पर्खाल पनि भत्कने अबस्थामा छ ।महिलाकै लागि भनेर निर्माण गरिएको उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङदेखि समेत महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण कार्य थालनी गरिएको थियो । पर्वतमा महिला बन्दी गृह निर्माण नभएपछि कारागार भित्रै पार्टेशन गरेर दुई भागमा महिला पुरुषलाई राख्दै आइएको छ ।