अबिरल वर्षाका कारण आएको बाढीले भक्तपुरमा नदी आसपासका बस्ती डुबानमा

0
Shares

पुष्करराज बुढाथोकी,भक्तपुर ।

तीन दिनदेखि परेको अबिरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरको वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । घरमा हनुमन्ते पस्दा भुईतलामा सामानहरु डुबाएका छन् । बाढी बस्तीमा पस्दा बराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिनुभयो ।

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं बृद्धाश्रम, सूर्यविनायकको राम मन्दिर, संगै रहेको शान्ति निकेतन माध्यामिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल र यहाँका केही घरहरु डुबानमा परेका छन् ।

डा.इवामुरा मेमोरियल अस्पताल डुबानमा परेको छ । भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाको बस्ती र धानखेतमा बाढी पसेर क्षति पुर्याएको जानकारी दिनुभयो ।हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।
यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका आंशिक भूभाग डुबानमा परेको छ ।

बालकोट रेडक्रस पछाडि, कौशल्टारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य सुवास कार्कीले जानकारी दिनुभयो ।हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यसवर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अबरोध पुर्याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन् ।

बालकोट वडा नं. २ हाइटका बस्ती समेत डुबानमा परेको छ । बस्ती विकाससंगै पानीको निकास थुनिएपछि बंगलामुखी मार्गको बाटो मुनीका बस्ती डुबानमा परेको छ । उता गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिनुभयो । कौशलटार इङ्लिस स्कुल लगायत आसपासका बस्ती डुबानमा परेको छ ।

त्यस्तै सूनपा वडा नं. ५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तल कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिनुभयो । यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुईतला जलमग्न भएको उहाँले जानकारी दिनुभयो । बाढी बस्तीमा पस्दा मानवीय क्षति नभएपनि लाखौको भौतिक क्षति भएको प्रहरीको भनाई छ ।