हलेसी विकासका लागि तीव्र गतिविधि


रामधन राई्,खोटाङ ।

विश्वप्रशिद्ध हलेसी विकासका लागि हलेसी विकास समितिले गतिविधि तिब्र वनाएको छ । हलेसी क्षेत्र विकासका लागि कार्ययोजना तयार गरी गतिविधि सुरु गरिएको हो । यसअन्तरगत विकास समितिको वर्तमान अवस्था, हलेसी अवलोकन, जनप्रतिनिधि र स्थानीयहरुसँग छलफल लगायतको गतिविधि भइरहेको हलेसी विकास समितिका निर्देशक समर भुजेलले बताउनुभयो ।

नेकपाका नेता, पूर्व सांसद तथा हलेसी विकास समितिका अध्यक्ष टंक राईले त्रिधार्मिकस्थल हलेसीलाई प्रकृतिमैत्री वातावरण व्यवस्थापन गर्न अवलोकन गर्नका साथै आवश्यक समन्वय गर्न थालिएको सुनाउनुभयो । यसका लागि हलेसी गुरुयोजना अनुसारै सबैले अपनत्व ग्रहण गर्ने गरी दोश्रो चरणमा स्थानीय समुदायसँग, हलेसीबजार समिति, आमा समूह र भजन समूहसँग छलफल गरिने अध्यक्ष राईको भनाई छ ।

यसअघि, विकास समितिका अध्यक्ष राईद्वारा पदभार ग्रहणसँगै बसेको बैठकमा हलेसी त्रिभार्मिक स्थल भएकाले एक वर्षभित्र ऐतिहासिक, सांस्कृतिक, धार्मिक हिसाबले पुष्टि गर्ने खोज अनुसन्धान गरी त्रिधार्मिक सोधग्रन्थ तयारी गर्ने निर्णय भएको छ । यसलाई मूलग्रन्थ मानेर अगाडि बढ्ने योजना बनाइएको छ ।

हलेसीमा किरातीहरुको चुला घर निर्माण गर्ने, हिन्दूधर्मले मनाउँदै आएको चाडहरुलाई निरन्तरता दिँंदै किरात, बौद्ध धर्ममा आधारित चाडपर्व मनाउने, विकास समितिको मातहमा रहने गरी हिन्दू, बौद्ध र किरात संस्कृति अनुसार पूजा व्यवस्थापन समिति गठन गरेर पूजा आराधना गर्ने लगायतका निर्णय गरिएको छ ।

उक्त बैठकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो ।