संस्कृत व्याकरणका रचयिता पाणिनिको तपोभूमिमा सभाहलको शिलान्यास

28
Shares

 रविन घिमिरे, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकास्थित संस्कृत व्याकरणका रचयिता महर्षि पाणिनिको तपोभूमिमा बन्न लागेको सभाहलको शिलान्यास गरिएको छ । उक्त सभाहलको गत शुक्रबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य माननीय रामजीप्रसाद घिमिरेले शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य घिमिरेले सभाहलले पाणिनि तपोभूमिको पूर्वाधार निर्माणमा थप टेवा पुग्ने बताउनुभयो । शिलान्यास कार्यक्रममा पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले पाणिनि तपोभूमिको विकासका लागि पाणिनि गाउँपालिका प्राथमिकताका साथ अगाडि बढेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, डिभिजन वन अधिकृत शिवप्रसाद शर्मा, सहायक वन अधिकृत अनिल महत, पाणिनि गाउँपालिका २ का वडा अध्यक्ष नेत्र भट्टराई, नेकपाका नेता जीवनारायण कोइरालालगायतको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारबाट विनियोजित करिब ३ करोड रुपियाँको लगानीमा बन्न लागेको ६ सय सिट क्षमता भएको बहुउपयोगी सभाहलको निर्माण डिभिजन वन कार्यालय अर्घाखाँचीमार्फत हुने बताइएको छ । २०७८ सालको असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको बताइएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार आव ०७६र ७७ मा डिपीआर बनाउने सहित करिब ५४ लाख खर्च भएको छ भने आव ०७७ र ७८ मा २ करोड ६७ लाख ६१ हजारमा उक्त कार्य सम्पन्नका लागि टेण्डर भएर काम अगाडि बढेको छ । आर्थिक वर्ष २०७६ ०७७ र २०७७ ०७८ का लागि प्रदेश सरकारले ३ करोड रुपियाँ सभाहल निर्माणमा बजेट विनियोजन गरेको थियो ।