पहिरोले घर पुरिदा २ बेपत्ता, गण्डक ब्यारेजका सबै ढोका खोलिए

0
Shares

घनश्याम बगाले, वलपरासी ।

विगत ३ दिन देखि परेको अविरल वर्षासंगै गएको पहिरोमा घर पुरिदा पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बुलिड.गटार गाउंपालिका वडा नं. २ डाडाझेरीको टांडीका ७० वर्षीय शेर बहादुर सार्की र उनकी श्रीमती खिनीमायांको घर भित्रै पहिरोले पुरेर ज्यान गएको हो ।

वडाध्यक्ष प्रेम बहादुर थापाका अनुसार विकट पहाडी गाउंमा घरमाथि बाट आएको पहिरोले रातको समयमा सार्की परिवार रहेको घरलाई पुरेको थियो ।

घटनाबारे जानकारी पाए लगतै प्रहरी टोली त्यस तर्फ गई सकेको र यथार्थ विवरण आउन बाकी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

लगातारको वर्षादसंगै स्थानीय खहरे खोला तथा नारायणी नदीमा जलस्तर बढदा कयौं गाउंघर डुवानमा परेकाछन् भने खोलाको पानी बस्तीमा पस्दा यहांका मुख्य बजार जलमग्न भएकाछन् ।

अत्यधिक वर्षाले गैडाकोट, कावासोती, मध्यविन्दु नगरपालिकाको मुख्य बजार क्षेत्रमा पानी पसेको स्थानीयहरुले बताए । नारायणी नदीमा पानीको जलस्तर बढ्दै जादा नदी किनार नजिका वस्ती तथा कतिपय होम स्टे, होटल तथा कटेजहरु डुवानमा परेकाछन् ।

रतनपुरमा नारायणीको बाढीले कटान जारी राखेको छ । रोक्ने प्रयाश स्वरुप नदी छेउमा ढुंगाहाल्ने काम भई रहेको स्थानीयले बताए ।
स्थानीयका अनुसार नारायणी नदीमा यस वर्षकै उच्चबाढी आएको र यो क्रम जारी रहेकोले गांउमा त्रास सिर्जना भएको रतनपुरकी टंक कुमारी पाण्डेले बताईन ।

कटान नियन्त्रण गर्न स्थानीय मध्यविन्दु नगरपालिका, प्रदेश सरककार र संघीय स्रोतको ६५ लाख रुपैयांको लगानीमा ठूला बोल्डर खसाल्ने काम जारी रहेको छ ।

उता विनयी त्रिवेणी गाउंपालिकाको त्रिवेणीधाम स्थित नारायणी नदीमा जलस्तर बढे पछि यहांको गण्डक ब्यारेजका सवै ढोकाहरु खुल्ला गरिएको भू आर्जन कार्यालयले जनाएको छ ।

झण्डै ७ लाख क्युसेक पानी थेग्ने क्षमताका साथ गण्डक ब्यारेज निमार्ण भएको थियो ।  ३ लाख क्युसेक पानी भरिदा ब्यारेजले अहिले खतराको संकेत देखाउने गर्दछ । मंगलबार विहान नरायणी नदीमा ४ लाख २८ हजार क्युसेक पानी प्रवाह भईरहेको गण्डक ब्यारेजको जल मापन गेजले देखाएको छ ।

करिव ६ दशक अघि भारतले नारायणी नदीमा ब्यारेज बनाई आफ्नो भूमीमा सिंचाई गर्न पूर्वी पश्चिम गण्डक नहर निर्माण गरेको थियो ।