नेपाल समाचारपत्र, काठमाडौं
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफू निकट स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेरै अगाडि बढन सुझाव दिएका छन् ।
पार्टी एकताको क्रममा दुई अध्यक्षको भूमिका महत्वपूर्ण भएकाले जारी विवाद समाधान गरेर अगाडि बढ्न नेताहरुले सुझाव दिएका हुन् । कोरोना, देशभर देखिएको बाढीपहिरोको समस्या अनि पार्टीभित्रको आन्तरिक किचलो सधैं जारी राख्दा जनमतको अपमान हुने सुझाव दिँदै स्थायी समितिका सदस्यहरुले पार्टी विभाजनको कल्पना गर्न नसकिने भएकाले ओलीसँग मिलेर नै अगाडि बढ्न सुझाव दिएका हुन् ।
एक महिना अघिबाट शुरु भएको विवाद चर्किंदै जाँदा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग सचिवालय र स्थायी समितिमा उठेको छ । अझै पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने मागको समाधान हुन सकेको छैन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने दबाब दिए पनि कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान प्रधानमन्त्री ओलीले राख्दै आउनुभएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच छैटौंपटकको वार्ता सकारात्मक बनेको थियो । प्रधानमन्त्री ओलीले आफू सम्मानपूर्वक बहिर्गमनका लागि आगामी मंसिरमा महाधिवेशन गरेर अध्यक्ष पद छोड्न तयार रहेको प्रस्तावप्रति प्रचण्ड सकारात्मक बनेका थिए । तर गत शनिबारको बैठकमा ओलीले राखेको उक्त प्रस्तावमा प्रचण्डले समर्थन जनाए पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले अर्को विरोध जनाएका थिए ।
प्रधानमन्त्री ओलीले विगतमा गरेको सहमति कार्यान्वयन गरेकोप्रति असन्तुष्ट बन्दै आउनुभएका प्रचण्डले माधव नेपाल पक्षसँग समीकरण गरेर ओलीलाई एक पद छोड्न दबाब दिँदै आउनुभएको छ । तर ओलीले दबाबको समाना गर्दै दुवै पदबाट राजीनामा नदिने अडान यथावत् राखेपछि पछिल्लो समयमा प्रचण्ड नै थप दबाबमा पर्नुभएको छ ।
सचिवालय बैठकमा ओलीको प्रस्ताव प्रचण्डले समर्थन जनाएपछि आइतबार सचिवालयका नेताहरुलाई बोलाएर ओलीसँग कुनै पनि सहमति नभएको ‘ब्रिफिङ’ गर्नुभएका प्रचण्डले सोमबार आफू निकट र माधवकुमार नेपाल निकट स्थायी समितिका नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाएर सुझाव लिनुभएको छ ।
प्रचण्डले पार्टीको जारी विवादको समाधानका लागि भन्दै नेताहरुसँग सुझाव माग्नुभएको थियो । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ ।
छलफलमा पार्टीका प्रवक्तासमेत रहनुभएका नारायणकाजी श्रेष्ठ, देव गुरुङ, मातृका यादवले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा ओली लागेकाले यो प्रवृत्तिले निकास आउने बताउँदै अब बल प्रधानमन्त्रीकै कोर्टमा रहेको बताउनुभएको थियो ।
नेकपाका स्थायी समिति सदस्य मणि थापाले पार्टी विभाजनको कुरा कल्पना पनि गर्न नहुने बताउँदै पार्टी एकता दुवै अध्यक्षले चाहँदा सम्भव भएकाले अहिलेको विवादमा पनि दुई अध्यक्षले समाधान गर्नुपर्ने सुझाव दिनुभएको बताउनुभयो । छलफलमा सहभागी नेताहरुले पछिल्लोपटक सचिवालय बैठकमा प्रस्तावका रुपमा आएको ‘अर्ली महाधिवेशन’ का बारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले अर्ली महाधिवेशनका बारेमा सहमति नगरेको जानकारी दिनुभएको थियो ।
अर्कोतर्फ पार्टी एकता प्रक्रियासमेत नटुंगिएको अवस्थामा एकैपटक महाधिवेशनमा जाँदा कार्यकर्ताले एकताको अनुभूति गर्न नपाउने भएकाले तत्काललै महाधिवेशनमा जान सम्भव नभएको नेताहरुले सुझाव दिएका थिए ।
नेकपाको स्थायी समिति बैठक भोलि मंगलबार बस्दै छ । बैठकअघि रणनीति बनाउन प्रचण्डपक्षका नेताहरुबीच छलफल भएको हो । नेताहरुको सुझाव सुनेपछि प्रचण्डले नेताहरुलाई स्थायी समितिको बैठकमका संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्नुभएको थियो ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पूर्वमाओवादीका स्थायी कमिटीको बैठकमा प्रचण्डका विश्वासपात्र जनार्दन शर्मा सहभागी हुनुभएन । पूर्वमाओवादीका केही नेताहरुले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको बेला शर्मा खुमटार नजानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
भेलामा जनार्दन शर्माको खोजी भएपछि प्रचण्डले पूर्वनिर्धारित भेटघाट र अस्पताल जानुपर्ने भएकाले सहभागी नभएको जानकारी गराउनुभएको बताइएको छ । तर एक नेताका अनुसार खुमलटारमा प्रचण्डले नेताहरुसँग ओलीसँगको विवादको बारेमा ‘ब्रिफिङ’ गरिरहेको बेला नेता शर्मा भने पार्टीका महासचिव विष्णु पौडेल र शंकर पौडलसँग वार्तामा रहेका थिए ।
सोमबार प्रचण्डले बोलाएको भेलामा सचिवालय सदस्य एवं गृह मन्त्री रामबहादुर थापा र उद्योग मन्त्री एवं स्थायी समिति सदस्य लेखराज भट्ट पनि सहभागी थिएनन् । पछिल्लो समय ओलीलाई साथ दिएका थापा र भट्ट प्रचण्डले बोलाएको भेलामा सहभागी हुने गरेका छैनन् ।











प्रतिक्रिया