रुप्से झरनामा आएको बाढीले पुल र होटलमा क्षति,रोकि राखेको स्काभेटर र बस बगायो

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित रहेको रुप्से झरनामा आएको बाढीले एक होटल र पुलमा क्षति पु¥याएको छ । अविरल वर्षाका कारण सोमबार दिउँसो झरनाको बाढीले पुल र होटलमा क्षति पु¥याउनुका साथै रोकिराखेको एउटा बस र एकवटा स्काभेटर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार झरनाको बाढीले पुल तथा होटलमा क्षति गर्नुका साथै हुँदा बस र स्काभेटर बगाएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले बताउनुभयो । उहाँले झरनामा आएको बाढीले भौतिक क्षति गरेको भए पनि मानवीय क्षति भने नभएको जानकारी दिनुभएको छ ।

रुप्से झरनामा आएको बाढीले कालीगण्डकी नदीमा बहाव बढ्ने र सम्भावित क्षति हुन सक्ने भएकाले अन्नपूर्ण–२, भुरुङ–तातोपानीमा रहेको तटीय वस्तीका बासिन्दा र सीमा प्रहरीचौकीलाई पनि सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । वर्षाका कारण झरनाले ठूलो आकार लिएको हुँदा पानीको बाक्लो बाफ उडेकाले स्पष्ट नदेखिँदा क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत दानास्थित पर्यटकीय रुप्से झरना पर्दछ । गएको असार २५ गते राती बेनी नगरपालिका–९, गलेश्वरस्थित राहुघाटखोलाको बाढी र कटानले पक्की मोटरेबल पुललाई पूर्ण रुपमा क्षति पु¥याएपछि ११ दिनदेखि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

विगत केही दिनदेखि परिरहेको लगतारको वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास गरिएको भए पनि वर्षात्का कारण सफल हुन सकेको छैन ।

यसैबीच अविरल वर्षाकै कारण सोमबार म्याग्दीखोलामा साविकको भन्दा बहाव ह्वात्तै बढेको छ । म्याग्दीखोलाले ठूलो मात्रामा काठ, मुढा र दाउरा बगाएर ल्याएको छ । खोलाले काठ र दाउरा बगाएर ल्याएको भए पनि क्षति कुन स्थानमा भएको हो भनेर अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

अत्यधिक वर्षाले गर्दा म्याग्दीखोला, कालीगण्डकी नदी र राहुघाट खोलामा पानीको सतह बढेको प्रनाउ कुँबरले बताउनुभयो । जिल्लाका तीनवटै खोलामा पानीको बहाव बढेको हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको प्रहरीले जनाएको छ ।