म्याग्दीमा कोरोना संक्रमणमुक्त भएर एकैपटक १४ जना घर फर्किए,६ जनाको उपचार जारी


न्युज अफ नेपाल, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । सोमबार मात्रै थप १४ जना एकैपटक कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु सबै पुरुष हुन् ।

म्याग्दीमा अहिलेसम्म कुल ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ३४ पुगेको छ । तीमध्ये २९ जना पुरुष र पाँचजना महिला रहेका छन् ।

आईसोलेसनमा रहेका ६ जना पुरुषको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भैरहेको छ ।कुबेत, भारत र कतारबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका १४ जना आईसोलेसन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा सबैभन्दा धेरै कुबेतबाट आएका ९ जना, भारतबाट ३ जना र कतारका २ जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

आईसोलेसनबाट डिस्चार्ज हुनेहरु मंगला गाउँपालिका १ कुहुँका ३५ वर्षीय पुरुष, मंगला २ हिदीका २३ वर्षीय पुरुष, रघुगंगा ३ राखुपिप्लेका ३० वर्षीय र ४७ वर्षीय पुरुष तथा रघुगंगा ६ पाखापानीका २८ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी मालिका गाउँपालिका १ निस्कोटका ३३ वर्षीय पुरुष, मािलका २ रुम र मालिका ३ रुम (डाँडागाउँ)का २५ र ४८ वर्षीय पुरुष, मालिका ५ देवीस्थानका २९ वर्षीय पुरुष तथा मालिका ७ बिमका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिका १ रत्नेचौरका १८ वर्षीय पुरुष, बेनपा ४ सिङ्गाका २८ र ३० वर्षीय पुरुष एवं अन्नपूर्ण गाउँपालिका ६ घारका ३० वर्षीय पुरुष डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका उनीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले खादा लगाएर विदाई गर्नुभएको थियो ।

उनीहरुलाई विदाई गर्दै प्रजिअ ढकालले आईसोलेसन अस्पतालबाट घर फर्किए पनि कम्तीमा एक हप्तासम्म आवश्यक सुरक्षा सावधानी अपनाएर होम क्वारेन्टाइनमै बस्न सुझाव दिनुभएको छ ।

म्याग्दीबाट हालसम्म ६ सय ५६ वटा नमुना सङ्कलन गरी पठाइएकोमा ६ सय १५ वटा नमुनाको रिपोर्ट आएकोमा ५ सय ६३ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित बिरामीको दोस्रो, तेस्रो नमुनासहित ५१ वटा नमुनाको रिपोर्ट पोजिटिभ र एउटा नुमना इन्भ्यालिट आएकोमा ४१ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

म्याग्दीमा अहिले कोरोना संक्रमितको सङ्ख्या ४० पुगेकोमा ३५ पुरुष र ५ जना महिला रहेका छन्भने तीमध्ये ३४ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । हाल बेनीका तीनवटा क्वारेन्टाइनमा कुल १ सय २० जना रहेकोमा १ महिला र १ सय १९ जना पुरुष रहेको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।