दार्चुला पहिरो : मृतकको शव भेटियो, विद्युत र सडक अवरुद्ध

0
Shares

न्युज अफ नेपाल, दार्चुला ।

गएराती भएको अविरल वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलामा आएको बाढीले घर बगाउदा ५ वर्षिय बालिका सहित २ जनाको मृत्यु भएको छ । गएराती अबिरल वर्षा संगै खोलामा आएको बाढी र पहिरोले घर पुरिदा स्थानिय हरजित ठगुन्नाकी ४२ वर्षिय श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिंह ठगुन्नाकी ५ वर्षिय छोरी पारवती ठगुन्नाको घट्ना स्थलमै मृत्यु भएको नौगाड प्रहरी चौकी प्रमुख भुवन बहादुर चन्दले जानकारी दिनुभयो ।

नौगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मृतकको शव पुरिएको अवस्थामा घर भित्रबाट निकालेको उहाले बताउनुभयो । बाढी र पहिरोमा परि घाइते भएकी हरजित ठगुन्नाकी २२ वर्षिय बुहारी मोहना ठगुन्नालाई उपचारका लागी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो । घट्ना स्थलमा नौगाड प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट उद्दारका लागी प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

बाढी स्थानिय हरजित ठगुन्नाको दुई तले पक्की घर, विरभान सिंह ठगुन्नाको खरले छाएको घर, सोही ठाउँमा रहेको समैजी आधारभुत विद्यालयको १२ कोठे भवन, सौचालय, खानेपानी ट्याङकी, साइमल सिंह धामीको घर बगाएको छ, भने २ घोडा, १८ बाख्रा, ४ गोरु, ३ गाई समेत बगाएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।

यस्तै स्थानिय देव सिंह धामीको दुई तले पक्की घर, जमिन, पानी घट्ट, २ गोरु, २ गाई, २ बाच्छी बगाएको छ, भने सालीभान सिंह धामीको घर, दुर्गे शिवराज र लोकेन्द्र खत्री तिन भाईका ५१ बाख्रा र गोठ बगाएको उहाले बताउनुभयो । यसैबिच महाकाली नगरपालिका वडा नम्बर ३ डुङरीमा रहेको डुङरी जलविद्युतको विद्युत उत्पादन गृह डुवानमा परेको छ । गएराती डुङरी खोलामा आएको बाढी उत्पादन गृह भित्र बाढी पसेपछि विद्युत उत्पादन अबरुद्ध भएको तथा नजिकै पार्किङ गरेर राखेको म १ ज २७० नम्बर जिप समेत पुरिएको प्रहरीले जनाएको छ । यस्तै महाकाली नगरपालिका–५ स्थित धौलीगाड खोलामा आएको बाढीले सडक भत्काउदा महाकाली लोकमार्ग पुर्णरुपामा अबरुद्ध भएको छ ।