साना उद्योगी लाभान्वित


काठमाडौं, (नेस)
मौद्रिक नीतिबाट ठूलो संख्यामा साना उद्योगीहरू लाभान्वित हुने भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले मौद्रिक नीतिको स्वागत गरेको छ ।
बैंंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योगलगायतका तोकिएका क्षेत्रमा विशेष पुनरकर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र ३ प्रतिशत व्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गरिएको र यस्ता पुनरकर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत मात्र ब्याज तिनर्पुर्ने व्यवस्था सकारात्मक भएको महासंघको भनाइ छ ।
मौद्रिक नीतिमार्फत सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विकास बंैकले कुल कर्जा लगानीको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीहरुले न्यूनतम १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम, ऊर्जा र पर्यटनलगायत तोकिएका क्षेत्रमा २०८१ असार मसान्तसम्ममा प्रवाह गर्नुपर्ने व्यवस्थालाई महासंघले स्वागत गरेको छ ।
बजेटमा व्यवस्था गरिए बमोजिम ५० अर्बको कोषमार्फत पर्यटन, लघु, घरेलु तथा साना उद्यमका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा दिने, बैंकका सबै शाखाले सहुलियत कर्जा अनिवार्य रुपमा लगानी गर्नुपर्ने तथा वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमका कर्जा कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइएकोप्रति पनि महासंघले स्वागत गरेको छ ।
मौद्रिक नीतिमा बंैक तथा वित्तीय संस्थालाई एकमुष्ठ प्रदान गरिने पुनरकर्जामा प्रतिग्राहक लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको सीमा १५ लाख, विशेष तथा साधारण पुनरकर्जाको सीमा ५ करोड र ग्राहकअनुसार मूल्यांकनका आधारमा प्रदान गरिने साधारण पुनरकर्जाको सीमा २० करोड हुने व्यवस्था मिलाइएको छ ।