३५ सय घरधुरी पानीको अभावमा


मिला दरै, तनहुँ ।

गत असार २८ र २९ गते आएको बाढीले गर्दा तनहुँको सदरमुकाम दमौलीमा पानीको अभाव भएको छ । व्यास नगरपालिका २, ३ र ४ नम्बर वडाका उपभोक्ता प्रभावित भएका छन् । अविरल वर्षाले खानेपानी ल्याएको पाइपमा क्षति पु¥याएपछि आवश्यक मात्रामा पानी आपूर्ति हुन नसक्दा समस्यामा परेको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।

दमौली बजारमा खपत हुने पानीमध्ये अहिले ३० प्रतिशत मात्रै आपूर्ति हुने भएकाले उपभोक्ताहरू सार्वजनिक धारा तथा कुवा खोज्दै हिँड्नुपर्ने अवस्था सिर्जना भएको समितिकी अध्यक्ष मीरा जोशीले जानकारी दिनुभयो । ‘बजारमा खपत हुने पानी आपूर्ति नहुँदा दमौलीवासीलाई प्रभावित बनेका छन्, सहज पानी वितरणका लागि मर्मत कार्य भइरहेको छ ।’ –जोशीले भन्नुभयो ।

जोशीका अनुसार खानेपानी समस्या समाधानका लागि व्यास नगरपालिकाको आर्थिक सहयोगमा मर्मतको काम तीव्र गतिमा भइरहेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्ज्याङ गणमा कार्यरत ११ जना सिपाहीले मर्मत कार्यमा मद्दत पु¥याएको उहाँले बताउनुभयो । व्यास नगरपालिका–४ मादीपुल नजिकै पहिरोले मादी नदीबाट पानी लिफ्ट गर्नका लागि बिच्छ्याइएको पाइपलाई क्षति पु¥याएको समितिले जनाएको छ ।

१० इन्चको डीआई पाइपको २४ मिटर भत्काएकाले आरसीसी पर्खाल उठाएर जोड्न लागिएको वरिष्ठ खानेपानी टेक्निसियन टेकबहादुर सिँजालीले जानकारी दिनुभयो । एक साताभित्र नै काम पूरा गर्ने गरी काम भइरहेको समितिका व्यवस्थापक अमर गिरीले बताउनुभयो । खानेपानी आपूर्तिमा समस्या हुँदा ३ हजार ४ सय ५० घरधुरीका ३० हजार बढी जनसङ्ख्या प्रभावित भएको गिरीले जानकारी दिनुभयो ।

संस्थाका अनुसार पहिरोले गर्दा मादी नदीबाट लिफ्ट गर्ने तीनवटा मोटरमध्ये एकवटा मोटर मात्रै सञ्चालनमा आएको छ । दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति हुँदै आएकोमा हाल ९ लाख लिटर मात्रै पानी आपूर्ति भइरहेकाले बजारवासीलाई समस्या भएको हो । १५ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको संस्थाले जनाएको छ ।