यस वर्षको सोमबार कति-कति गते ? १४ वर्षसम्म साउने सोमबारको व्रत लिनुपर्ने !


न्युज अफ नेपाल, काठमाडाैं ।

यस वर्षको पहिलो सोमबार आज परेको हाे भने याे महिनामा ५, १२, १९, २६ गते सोमबार परेको छ । विशेषगरि सनातनी हिन्दूहरुले आजबाट साउने सोमबारको व्रत शुरु गर्दैछन् ।  पछिल्लो समय साउनको सोमबारको व्रत बस्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

चन्द्रमा अर्थात् सोम 

नौ ग्रहमध्येको एक हाे चन्द्रमा अर्थात् सोम । सोमबार चन्द्रमा शिवजीको शिरमा बसेका हुन्छन, त्यसैले सोमबार शिव बार मानिन्छ। कर्कट राशिका स्वामी पनि चन्द्रमा । सौरमानअनुसार साउन कर्कट राशिको महिना ।

यसैले साउनको सोमबार शिवको पूजा गरिएको तर्क गर्छन्, ज्योतिषी तथा पण्डितहरू । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भन्छन्, ‘साउनको मात्र होइन हरेक सोमबार शिवजीको पूजा महत्त्वपूर्ण हुन्छ ।’ उनका अनुसार पुराणमा साउने सोमबारमा गरिने शिवपूजाको थुप्रै सन्दर्भ पाइन्छन् ।

 

साउनमा मात्र नभई वैशाख, कात्तिक, मंसिर र चैतका सोमबारमा शिवको पूजा गर्ने विधान धर्मशास्त्रमा उल्लेख भएको धर्मशास्त्री डा. देवमणि भट्टराई बताउँछन् । १४ वर्षसम्म साउने सोमबारको व्रत लिने विधान छ ।’ उनका अनुसार व्रतराज (पुराणहरूको संग्रह) मा सोमबार गरिने विभिन्न प्रहरको पूजाविधि बताइएको छ । तर साउनको सोमबारलाई धर्मशास्त्र भन्दा पनि लौकिक मान्यताका आधारमा चलेको व्रत मानिन्छ ।

हरियो रंगको प्रभाव

केही वर्षयता साउनभर अथवा सोमबार मात्र भए पनि महिलाहरूले हरिया र पहेँला पहिरन लगाउने चलन बढेको छ। यसैगरी चुरापोते जस्ता सौभाग्य सामग्री पनि हरिया पहेँला हुने गरेका छन् । सुरुसुरुमा राता लुगा लगाएर तीजमा जस्तै व्रत बस्ने चलन थियो । केही वर्षमा चुरा र पोतेका रंगहरू फेरिए रातासँगै पहेँला र हरिया पनि मिसिन थाले । हिजोआज त हातमा मेहन्दी नहुँदा साउन नै फिका हुनेजस्तो भएको छ ।

‘मानिसको शरीर पञ्चमहाभूतबाट बनेको छ । त्यसमा पनि पृथ्वी तत्त्व बढी छ’, गौतम भन्छन्’, वर्षाका कारण साउनमा पृथ्वी नै हरियाली हुने भएकाले मानिसले त्यसलाई ग्रहण गरेको अर्थमा पनि बुझ्नुपर्छ ।’ शिवजीलाई बेलपत्र चढाउने विधान पुराणमा भएअनुरूप मानिसले त्यसको रंगलाई आत्मसात गरेको बुझाइ छ, भट्टराईको ।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ। जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ। साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ।

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग हो। साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो। भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ। भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन्। जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ ।

विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी क्षेत्रमा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो। यस्तै हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ। बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ। यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ।