आज साउन महिनाको पहिलो सोमबार


काठमाडौं। हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना मानिन्छ। त्यसमा पनि आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । तर यसपटक कोरोना भाइरसको महामारीका कारण भने शिवालयहरुमा मानिसहरुको उपस्थिति न्यून हुनेछ ।

सरकारले २५ जना भन्दा जना एक स्थानमा भेला नहुन भनेको छ भने मन्दीरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् ।

नियमित पूजा आजा भएको भएपनि मानिसहरु भेला हुने काम भने रोकिएको छ । यसको प्रभाव साउन महिनामा शिव मन्दीरहरुमा पनि पर्ने देखिएको छ ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसि शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिईन्छ । साउने सोमबारको दिन मनोकामना पुरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने धार्मिक प्रचलन छ ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । शिव पुराणअनुसार शिव स्वयं जल हुन् ।

भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

सतीदेवीको माथिल्लो ओंठ पतन भई ज्योतिर्लिङ्ग स्वरुप उत्पति भएको शिवशक्ति पीठ सन्तानेश्वर महादेवको दर्शन गर्नाले निसन्तानले सन्तान प्राप्ती हुनुका साथै भएका सन्तानले सुख प्राप्त हुने मान्यता रही आएको छ ।

गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो ।