तानसेन बुटवल सडक अनिश्चित्कालीन अवरुद्ध


कविराज नेपाल, पाल्पा

हिउँदयाममा पनि माथिबाट ढुंगा र पहिरो झरेर मृत्यु मार्गका रुपमा परिचित साथै वर्षायाममा पहिरोको कारण अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड शनिबारदेखि अनिश्चित्कालका लागि बन्द भएको छ ।

शुक्रबार रातिदेखि गएको पहिरो पन्छाउने क्रम जारी रहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले अनिश्चित्कालका लागि बाटो बन्द भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनः पहिरो खसेको र पहिरो पन्छाउने प्रयास जारी रहे पनि पहिरो पन्छाउन सकिएको छैन ।

शुक्रबार रातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रकसमेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो निकै प्रयासपछि बुटवलबाट स्याङ्जा सामान लिई हिँडेको लु१ख ११७५ नम्बरको मिनी ट्रक निकालिएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । ट्रकमा रहेका चालक र सहचालक भने जसोतसो बाहिर निस्केका कारण मानवीय क्षति भने हुन पाएन ।

यस क्षेत्रमा खसेको पहिरोले शुक्रबार पनि सडक अवरुद्ध बनेको थियो । दिउँसो डोजर, स्काभेटर प्रयोग गरी सडक सुचारु गरिए पनि राति परेको अविरल वर्षाले पुनः पहिरो खसेको थियो । पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । पहिरो पूर्ण रुपमा हटाउन अझै केही दिन लाग्न सक्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा तथा तराईका जिल्लाहरुबाट यात्रा गर्नेहरु बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बुटवल–तानसेन सडक खण्डको गौडेपुल नजिकै पहिरो आई सडक अवरुद्ध भएकोमा पहिरो हटाउने कार्य तीव्र रुपमा हँुदाहँुदै पहिरो झर्ने क्रमसमेत जारी रहेकाले पूर्ण रुपमा पहिरो हटाउन केही दिन लाग्न सक्ने देखिएको हुँदा वैकल्पिक उपाय अपनाउन अनुरोध गरिएको बताउनुभयो ।

सुरुङमार्ग र रकनेट भनेर चर्चामा आउने तर बर्षायाममा पहिरोको कारण अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड यस वर्ष पनि पहिरोले धेरैपटक सडक अवरुद्ध हँुदै आएको छ । प्रत्येक वर्ष सरकारले राजमार्गको तानसेन–बुटवल सडकखण्डमा करोडौं रकम खर्च गरे पनि सडकको स्तरउन्नति नहुँदा पहिरोको जोखिम कायमै रहेको छ । उत्तर दक्षिण जोड्ने गण्डकी प्रदेश र ५ नं प्रदेशलाई जोड्ने एक मात्र यस सडकखण्डमा चट्टाने पहिरोका कारण सडक अवरुद्ध हुने मात्र नभई वर्षेनी सवारीसाधनहरु दुर्घटनामा पर्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन् ।

वर्षायामसँगै माथिबाट माटोरहितको ठूला ठूला ढुंगा खस्दा अवरुद्ध भएको सडकका कारण पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, वाग्लुङ, म्याग्दीजस्ता जिल्लामा आवगमन मात्र नभई खाद्यान्न, अत्यावश्क वस्तुको ढुवानीसमेत रोकिँदै आएको छ । सडकमा क्षमताभन्दा बढी भारवहनयुक्त सवारीसाधन गुड्नु, सडक चुरे पहाडको काखमा हुनु, चुरे पहाडमा अनधिकृत रुपमा डोजर चलाउनुजस्ता कारणले सडक उच्च जोखिममा परेको हो ।

तानसेन–बुटवल सडकखण्डमा दर्जनौं ठाउँमा पहिरोको कारण सडक अवरुद्ध हुने गर्दछ । यो वर्ष वर्षायाम शुरु हुनासाथ पहिरोको कारण दैनिक सडक बन्द हुने केही समय खुल्ने क्रम निरन्तर चल्दै आएको छ । तानसेन–बुटवल सडकखण्डको गौडेपुल, कालीमाटी, दोभान, सिद्धबाबा क्षेत्र सबैभन्दा जोखिम क्षेत्रका रुपमा रहेका छन् ।

पहिरोको कारण मानवीय क्षति हुन सक्ने सम्भावना औल्याउँदै प्रहरी चौकी प्रभासका प्रमुख एक्काबहादुर नेपाली नयाँनयाँ ठाउँमा गएको पहिरो सफा गर्दागर्दै माथिबाट पहिरो झर्ने क्रम नरोकिँदा उच्च जोखिम कायमै रहेको बताउनुहुन्छ ।

अवरुद्ध सडक समयमै खुलाउन, क्षति कम गराउन डिभिजन सडक कार्यालयले तानसेन–बुटवल सडक खण्डमा दुईवटा डोजर सञ्चालन गर्दै आएको जनाएको छ । राजमार्गको उच्च जोखिमका दुई स्थानको पहिरो पन्छाउनका डोजर स्काभेटर ठाउँठाउँमा राखिएको डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर राम बिहारी चौधरी बताउनुहुन्छ ।