अझै भेट्टिएनन् मेलम्चीमा बेपत्ता चालक


काठमाडौं, (नेस)

सुरुङ परीक्षणका क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटी बेपत्ता भएका सवारी चालक अझैसम्म पनि फेला पर्न सकेको छैन । गएको असार ३० गते सुरुङको गेट निरीक्षणको क्रममा एक्कासि फुट्दा त्यसबाट आएको बाढीले सवारी चालक राधाकृष्ण थापासहित चार जनालाई बगाएका थिए ।

आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङको उद्धार भएको थियो । घाइते अबस्थामा उद्धार भएका उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ भने निर्माण व्यवसायीका इन्जिनियर सतिस गोइत र सवारी चालक थापा भने बेपत्ता थिए ।

बेपत्ता इन्जिनियर गोइतको शव भने बेपत्ता भएको दुई दिनपछि साउन १ गते खोज तथा उद्धारको टोलीले बाहुने पाटी नजिकै फेला परेको थियो । तर बेपत्ता सवारी चालक थापालाई भने अझैसम्म पनि फेला पार्न सकिरहेको छैन । चालक थापालाई खोज्न सशस्त्र प्रहरी बलको गोताखोर, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा खोजी रहेको छ ।

प्रहरी कार्यालय मेलम्चीले खोजी बेपत्ता भएको भोलिपल्टदेखि नै खोजीकार्य जारी रहेको जनाएको छ । प्रहरी कार्यालयका एक अधिकारीले शनिबार बेलुकीदेखि निरन्तर वर्षा भएको र आइतबार पनि वर्षात्कै कारण खोलाको बहाब बढेकाले खोजीकार्य स्थगित गरेको बताए ।

खोज तथा उद्धार टोलीले मेलम्ची, इन्द्रावती, सुनकोशी तथा नदीकिनारमा व्यापक खोजिरहेको छ । आयोजनाका सहप्रवक्ता राजेन्द्र पन्तले मौसमले साथ दिएसम्म बेपत्ताको खोजीकार्य जारी राख्ने जानकारी दिनुभयो ।