भान्जाको हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ


दीपक रिजाल, काठमाडौं

१३ वर्षअघि आफ्नै भान्जाको अपहरण गरेर हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

२०६४ साल असोज २४ गते खिचापोखरीबाट आफ्नै भान्जाको अपहरण गरी २ लाख फिरौती लिएर हत्या गरी फरार भएका राजेशकुमार गुप्तालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेकोे जानकारी दिएको छ ।

भारतको सीतामढी घर भई खिचापोखरी बस्दै आएका वासु्देव गुप्ताका छोरा रोहित गुप्ताको अपहरण गरी घर नजिकैको एउटा कोठामा बन्धक बनाएर भान्जाको हत्यापछि गुप्ताले बहिनी ज्वाइँ वासुदेवलाई फोन गरी रोहितलाई अपहरण गरेको र फिरौतीबापत २ लाख ५० हजार माग गरेको र उक्त रकम नदिए हत्या गर्नेसम्मको चेतावनी दिएका थिए ।

आफ्नै योजनाअनुरुप गुप्ताले रोहितको अपहरण गरी अर्का अपहरणकारी विष्णु सुनुवारको कोठामा भान्जाको हत्या गरेपछि गुप्ताको योजनामा नै वासुदेवसँग विष्णुलाई फिरौती रकम माग्न लगाएका थिए । भान्जा अपहरणमा परेको जानकारी ज्वाइँ वासुदेवले गराएपछि अपहरणका मुख्य योजनकार राकेश गुप्ताले प्रहरीकहाँ जाहेरी दिने र फिरौतीबापतको रकमसमेत बुझाउन आफैं गएका थिए ।

फिरौती रकम बुझाएपछि अपहरणकारी ट्याक्सी चढेर भागेको भन्दै केही दिनमा नै भान्जा सकुशल मुक्त हुने आश्वासन उनले दिँदै आएका थिए ।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार फिरौती रकम बुझाउन भनी थानकोटमा रहेको त्रिभुवन पार्कमा समेत राकेशले नै पैसा बोकेर गएको देखिन्छ । उक्त घटना आफूले गराएको भन्ने जानकारी कसैलाई पनि नहोस् भनेर राकेशले प्रहरी प्रशासनमा समेत हत्यारा पत्ता नलगाए आन्दोलन गर्ने धम्कीसमेत दिएका थिए ।
प्रहरीले अपरहण परेको तीन दिनपछि रोहितको शव कमलादी गणेस्थान नजिकै बोरामा हालेर फ्याँकेको अवस्थामा बरामद गरेको थियो । शव बरामदपछि प्रहरीले घटनाको बारेमा अनुसन्धानलाई तीव्र गर्ने क्रममा धादिङका विष्णुलाई पक्राउ परेको थियो ।

विष्णु पक्राउ पर्नुअघि नै राकेश छठ मनाउन भनेर भारत गएपछि उनी नेपाल फर्केका थिएनन् । प्रहरीले उक्त घटनाको अनुसन्धानलाई तीव्र बनाइरहेको बेला राकेश कहिलेकाहीं नेपाल आउने गरेको सूचना पाएपछि उनलाई खोजी गर्ने क्रममा मलंगवाबाट पक्राउ गरिएको पनि एसएसपी थापाले जानकारी दिनुभयो ।

भान्जालाई घरबाट बाहिर बोलाई जादु देखाउने भन्दै विष्णुको कोठामा पु¥याएका थिए । भान्जा रोहितलाई कोठामा पु¥याएपछि हातखुट्टा बाँधेर मुख छोपी घाँटीमा थिचेर हत्या गरेका थिए । राई स्कुलका कक्षा ७ मा अध्ययनरत रहेका रोहितको हत्यापछि पक्राउ परेका विष्णुले उक्त हत्या आफू र राकेश मिलेर गरेको र उक्त हत्यापछि आफूले ३५ हजार मात्र पाएको बताएका थिए ।

फरार रहेका गुप्ता प्रायःजसो क्याबिन रेस्टुरेन्ट जाने र फजुल खर्च गर्ने बानी लागेको कारण उनले भान्जाको अपहरणपछि हत्या गरेको देखिएको एसएसपी थापाले जानकारी दिनुभयो ।