खाली हुन थाले पर्वतका आइसोलेसन


न्युज अफ नेपाल,पर्वत ।

कोरोना संक्रमणको पुष्टि भएपछि पर्वत कोरोना अस्पताल (अस्थायी) मा उपचाररत थप १७ जनामा संक्रमण निको भएको पुष्टि भएको छ । योसँगै पर्वत कोरोना अस्पतालमा उपचारका लागि भर्ना गरिएकाको संख्या ९४ जनाबाट झरेर ५ मा पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार संक्रमितहरुको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा सङ्क्रमण नरहेको पाइएपछि आइतबार १७ जनालाई एकै पटक डिस्चार्ज गरिएको छ ।

पर्वतमा संक्रमित थपिने दर निकै न्यून छ भने निको हुने दर बढ्दै गएपछि सुरुवातका अवस्थामा आइसोलेटेड बेड अभावसमेत हुन लागेको कोरोना अस्पतालका बेडहरु अब खाली भएका छन् ।

आइसोलेसनमा बाँकी रहेका ५ जनामा पनि कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। भारतबाट जिल्ला फर्किनेहरुको चाप निकै बढेको बेलामा संक्रमित पनि बढ्दै गएको पर्वतमा पछिल्लो समय यस्तो अवस्था छैन। नयाँ सङ्क्रमित भेटिनसमेत छाडेका छन् ।

पर्वतमा अहिले सम्म ९५ जनामा संक्रमण पुष्टि भएको छ । आइसोलेसन खाली भएपछि गाउँघरमा रहेका सामुदायिक क्वारेन्टाईनामा भने संख्या अधिक नै छ । कुस्मा र मोदी गाउँपालिकामा रहेका पुलिङ्ग क्वारेन्टाइनमा १ सय ९ जना रहेका छन । हाल सम्म सामुदायिक क्वारेन्टाइनमा ४ सय १ जना बसेका छन । अहिले होम क्वारेन्टाईनमा बस्नेको संख्या भने १ सय ९६ रहेको छ ।