जवाफदेही प्रशासनका लागि युवाहरु जुर्मुराए

94
Shares

न्युज अफ नेपाल,ललितपुर ।

युवा अधिकारको विषयमा सचेतना बढाउँदै सार्वजनिक प्रशासनिक प्रति जवाफदेही बनाउने दिशामा महत्वपूर्ण काम भएको राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाले जनाएको छ ।

शाखाको शनिबार पुल्चोकमा सम्पन्न चौथों वार्षिक साधारण सभामा सो कुरा बताइएको हो । शाखाले ललितपुरको विशिष्ट परिवेशमा धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा सक्रिय युवाहरुलाई संगठित गरी सो दिशामा लक्षित गराउन आफ्नो पैरवी र कार्यक्रमले टेवा पु¥याएको नीष्कर्ष निकालेको छ । शाखाले ललितपुरमा कार्यरत करिब २ सय युवा सम्बद्ध संघसंस्थाहरुको कार्यक्षेत्र, कार्यप्रकृति,संस्थागत क्रियाशीलताको अवस्था, अवसर र चुनौती बारे विस्तृत अध्ययन गरेको आधारमा सो नीष्कर्ष निकालिएको हो।

गैर राजनीतिक क्षेत्रमा कार्यरत ती युवावर्गसम्बद्ध संघसंस्थालाई एकत्रित वा समन्वय गरेर अघि बढाउन सक्यौं भने  सामाजिक परिर्वतन धेरै टाढाको विषय नभएको धारणा पनि ललितपुर क्षेत्र नं १ का सांसद् नवराज सिलवालले व्यक्त गर्नुभयो।‘हामी कहाँ राजनीतिक आस्थाका आधारमा वा विभिन्न कारणले कारणले युवाहरु विभाजित छन् । ती युवाहरुलाई सामाजिक रुपान्तरण, आर्थिक सामाजिक विकासमा सक्रिय तुल्याउने हो भने आफ्नो गाउँ ठाउँ र मुलककै सकारात्मक परिर्वतन सम्भव छ । ’ सांसद् सिलवालले भन्नुभयो । यस कार्यका लागि स्रोत साधन जुटाउनेदेखि लिएर आवश्यक काम गर्न आफू सधैं तत्पर रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा शाखाका अध्यक्ष राजेश बज्राचार्यले महासंघले युवा अधिकारलाई ललितपुरको परिवेशमा ठोस कार्यान्वयन गर्दै स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी प्रशासनलाई जवाफदेही बनाउन गर्दै आएको कार्यक्रमले प्रशासनमा युवावर्गको पहुँच केही हदसम्म बढेको बताउनुभयो । स्थानीय तहबाट हुने सेवा प्रवाह र अन्य कार्यमा ललितपुरका युवावर्गको रचनात्मक सहभागिताका लागि शाखाले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको जानकारी पनि उहाँले दिनुभयो । भूकम्प पीडितहरुको सावर्जनिक सुनवाई, युवा लक्षित बजेटको सदुपयोग बारे चरणबद्ध गोष्ठी, युवाअधिकारबारे पैरवीकै माध्यमले युवा अधिकार, स्थानीय सरोकार र सेवा विस्तारको नारालाई चरितार्थ गरेको पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ ।

सभामा पूर्व प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जवाफदेही प्रहरी प्रशासन र प्रहरी मेरो साथीको मर्मलाई व्यावहारिक रुप दिन निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । ललितपुरको प्रहरी प्रमुख हुँदा प्रहरी मेरो साथीको मर्मलाई कार्यरुप मार्फत सम्प्रेषण गर्न शाखाका युवाहरुको धेरै सक्रियता रह्यो । त्यतिबेलाको गतिविधिहरुले अझै मनलाई रोमाञ्चित बनाईरहेको छ । प्रहरी मेरो साथीको मर्मलाई व्यावहारिक रुप दिन निर्वाह गरेको भूमिका वास्तवमै वास्तवमै प्रशसंनीय छ ।’ अधिकारीले भन्नुभयो ।

सो अवसरमा नेपाल प्रहरीको लागू औषध ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप चौधरीले युवावर्गलाई लागू औषधको कुलतबाट बचाउन रचनात्मक गतिविधिमा सक्रिय बनाउनुपर्नेमा जोड दिँदै शाखासंग समन्वय गरेर काम गर्न तयार रहेको बताउनुभयो । सभामा अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजका अध्यक्ष अजरमान जोशीले लागू औषधी दुव्यर्सनी विरुद्ध सडक नाटक मार्फत शाखाले युवावर्गको सचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ललितपुर महानगरपालिका समाजकल्याण महाशाखाका अधिकृत सरिता महर्जनले ललितपुरमा युवावर्गको जागरणका लागि शाखाले विभिन्न कामहरु गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।