दोस्रो टेस्टमा इंग्ल्यान्ड बलियो स्थितिमा


लन्डन, (एजेन्सी)

पहिलो टेस्टमा हारेको इंग्ल्यान्ड म्यानचेस्टरमा जारी वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टमा बलियो स्थितिमा रहेको छ । इंग्ल्यान्डले पहिलो इनिङ ९ विकेटको क्षतिमा ४ सय ६९ रनको योगफलमा समाप्तिको घोषणा ग¥यो। क्रिजमा डोम बेस ३१ रनमा र स्टुआर्ट ब्रोड ११ रनमा नटआउट थिए। इंग्ल्यान्ड ३ टेस्टको सिरिजमा १–० ले पछि छ।

यो घरेलु टोलीले ३ वर्षपछि पहिलो इनिङमा ४ सय रन पार गरेको हो। यसअघि वेस्टइन्डिजविरुद्ध नै सन् २०१७ मा भएको एजबास्टन टेस्टमा ४ सयभन्दा रन जोडेको थियो। इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याटसम्यान डाम सिबली र बेन स्टोक्सले शतक बनाएका थिए।

स्टोक्सले १७ चौका र २ छक्काको सहयोगमा १ सय ७६ रन जोडे भने सिबलीले १ सय २० रनको योगदान दिए। दुवैले चौथो विकेटका लागि २ सय ६० रनको साझेदारी गरेका थिए। यो स्टोक्सको करियरको १०औं तथा वेस्टइन्डिजविरुद्ध दोस्रो टेस्ट शतक हो। उनले दोस्रोपटक १ सय ५० रन पार गरेका हुन् ।

पाहुना टोली वेस्ट इन्डिजको तर्फबाट रोस्टन चेजले ५ विकेट लिएका थिए। जबकि, केमार रोचले २ विकेट हात पारे। रोचले लगातार दुई बलमा बेन स्टोक्स र क्रिस वोक्स (शून्य) लाई आउट गरेका थिए । यसअघि उनले सन् २०१९ मा भारतविरुद्ध भारतीय कप्तान विराट कोहली र केएल राहुललाई लगातार बलमा आउट गरेका थिए।

सिबलीको भने यो करियरको दोस्रो शतक हो। यो इंग्ल्यान्डमा ब्याटसम्यानले प्रहार गरेको पाँचौं ढिलो शतकसमेत हो। उनले ३ सय १२ बल खेलेर आफ्नो शतक पूरा गरेका थिए। यसअघि अस्टे«लियाका लिन्डसे हैसेटले ३ सय ३३ बलमा, इंग्ल्यान्डका किथ फ्लेचरले ३ सय २९ बलमा, अस्टे«लिया बिल ब्राउनले ३ सय १८ बलमा र इंग्ल्यान्डका माइलक आर्थटनले ३ सय १५ बलमा शतक हानेका थिए ।

जोए रुट यस टेस्टमा फर्केका छन्। पहिलो टेस्टमा उनी बाबु बनेको हुँदा सहभागी हुन सकेका थिएनन्। उनी फर्केर टिमको नियमित कप्तानी सम्हाले पनि क्रिजमा धेरै बेर टिक्न सकेनन्। उनी २३ रन बनाएर आउट भएका थिए। उनलाई अल्जारी जोसेफले आउट गरेका थिए। जोसेफले रुटलाई पछिल्ला ५ मध्ये ४ इनिङमा पवेलियनको बाटो देखाएका छन् ।