जिदानको नेतृत्वमा उत्कृष्ट बन्यो रियाल मड्रिड


लन्डन, (एजेन्सी)

बिहीबार राति भिल्लारियलमाथि २–१ गोलअन्तरको जितसँगै रियाल मड्रिडले स्पेनी च्याम्पियन बन्न सफल भयो । गत महिना स्पेनी ला लिगा पुन शुरू भएयता रियाल मड्रिडले लगातार १० खेलमा जित हात पारेको हो ।
यो प्रमुख कोच जिनेदिन जिदानको टिमका लागि प्रभावशाली प्रदर्शन हो। यही समान टिम गत सिजनमा बार्सिलोनासँग १९ अंकले पछि परेको थियो। यसपटक एक खेल बाँकी रहँदै मड्रिडले बार्सिलोनालाई पछि पार्दै उपाधि जितेको हो ।

फ्रेन्च म्यान जिदान जब टिममा आए त्यहाँदेखि रियाल मड्रिड अलग्गै टिम बनेको छ। यो जिदानको यो दोस्रोपटक रियाल मड्रिडमा आबद्ध भएको हो। जिदान व्यवस्थापनको क्षमता भएको व्यक्तिको रूपमा सधैं चर्चित रहेका छन्। यसपटक उपाधि जित्दा क्रिस्टियानो रोनाल्डो पनि टिममा छैनन्। आलोचकहरूले रोनाल्डोविना जित्न सक्ने क्षमता बनाएको भन्दै पनि जिदानको प्रशंसा गरेका छन्।

पछिल्लो समयमा भने जिदानले उनका उत्कृष्ट खेलाडीलाई मैदान पठाउने रणनीति सीमित भएको आरोप लागेको थियो। उनको रणनीति पनि कमजोर भएको भनेर आलोचना भएको थियो। रियाल मड्रिडले यसअघिका दुई सिजनमा बार्सिलोनासँग पछि पर्नुपरेको थियो। सोही दुई सिजनको अध्ययनपछि जिदानले टिमको कमजोरी औंल्याएर टिमलाई अगाडि बढाए।

जिदानले सम्हालेको रियाल मड्रिड निकै सन्तुलित देखिएको छ। प्रतिद्वन्द्वीहरूलाई आफूविरुद्ध खेल्न दिन कुनै पनि स्थान दिएको छैन। टिम वर्क पनि राम्रो देखिएको र गोल गर्न पनि सफल भएको छ। उनीहरू निकै सन्तुलित बनेका छन् र त्यसैले प्रतिद्वन्द्वी खेलाडीहरूका लागि गोल गर्न कठिन भएको छ।

नतिजा यो आयो कि ला लिगामा रियाल मड्रिडको रक्षात्मक विधा निकै उत्कृष्ट भएको छ। टिमले ३७ खेलबाट केबल २३ गोल आत्मसात् गरेको छ। यो टिमको राम्रो रेकर्ड पनि हो। किनभने गत सिजनमा हेर्ने हो भने ४६ गोल आत्मसात् गरेको थियो। त्योभन्दा अगाडिको सिजन २०१७–१८ मा टिमले ४४ गोल आत्मसात् गरेको थियो ।

धेरै खेलाडीले व्यक्तिगत रूपमा पनि राम्रो प्रदर्शन गरेका छन् । फर्लान्ड मेन्डीले लेफ्ट ब्याकमा डिफेन्स गर्न सफल भए। राफाएल भारानेले उनको करियरमा सबैभन्दा उत्कृष्ट सिजनमा रमाउन पाए। थिबाउट कोर्टोइस, सर्जियो रामोस, कासेमिरोले पनि राम्रो खेलेका छन् ।

सबैतिरबाट गोल
रियाल मड्रिडले यस सिजनमा उपाधि जित्नमा सबैजसो खेलाडीले गोल गर्नु पनि हो। २१ विभिन्न खेलाडीले स्कोरसिटमा नाम लेखाएका छन्। लालिगाका पछिल्ला सिजनहरूमा यस्तो कहिल्यै देखिएको थिएन । एडेर मिलिटाओ र ब्राहिम डियाज दुईजनाले मात्रै गोल गर्न सकेनन्।

रियाल मड्रिडका प्रमुख स्ट्राइकर करिम बेन्जेमाले सर्वाधिक २१ गोल गरे। यसपछि क्याप्टेन सर्जियो रामोस दोस्रो स्थानमा रहे। उनले १० गोल गर्दा ६ गोल पेनाल्टीबाट आएको हो। उनीहरूपछि मिडफिल्डर टोनी क्रुज र कासमीरोले ४/४ गोल गरे।

उत्कृष्ट बेन्जेमा
रियाल मड्रिडका कोही पनि फरवार्डले निराश गरेनन्। यसमध्ये करिम बेन्जेमा सबैभन्दा उत्कृष्ट रहे। उनले २१ गोल गर्दा ८ असिस्ट गरेका छन्। उनले क्रिस्टियानो रोनाल्डोको विच्छेदलाई बिर्साइ दिएका छन्। उनी स्वार्थी पनि भएनन्। उनको टिम साथी खेलाडीसँग तालमेल पनि निकै मिलेको छ ।

साँच्चिकै भन्ने हो भने क्रिस्टियानो रोनाल्डोको बहिर्गमनले उनलाई लाभ पु¥याएको छ। यसमा कुनै शंका छैन, उनले खुलेर खेल्न पाएका छन्। यसअघि रोनाल्डो हुँदा सबैको अपेक्षा रोनाल्डोमाथि नै हुन्थ्यो। तर, बेन्जेमाले यस्तो अपेक्षालाई पूरा गरिदिएका छन्।

अर्जेन्टिनी स्टार बेन्जेमाले गत दुई सिजनमा ४२ गोल गरेका छन्। तर, त्यो भन्दाको दुई सिजनमा उनको गोल संख्या मात्र १६ थियो। उनले टिमका खेलाडीहरूलाई राम्रो बनाए। एडेन हजार्डसँगको उनको तालमेल मिलेको छ। उनको छत्रछायामा ब्राजिली युवा खेलाडी भिनिसियस जुनियर र रोडरीगोले पनि आफ्नो क्षमतालाई बढाउन सकेका छन् ।

उज्यालो भविष्य ?
सर्जियो रामोस ३४ वर्ष, लुका मोडरिक ३४ वर्ष र करिम बेन्जेमा ३२ वर्षका हुन्। उनीहरूको करियर केही वर्षसम्म रहन सक्नेछ। अब रियाल मड्रिडलाई सम्हाल्न सक्ने खेलाडी को–को रहेछन् त? भिनिसियस, रोडरिगो, मेन्डी र फेडे भाल्भर्डेले भविष्यमा टिम सम्हाल्न सक्ने पनि स्पेनी मिडियाले जनाएको छ। उनीहरूको उज्यालो भविष्य देखिरहेको जिदानको भनाइ रहेको छ।

रियाल मड्रिडसँग लोनमा आएका प्रतिभावान् युवा खेलाडीहरूको जमात रहेको छ। ती हुन् रियाल सोसाइडाडका मिडफिल्डर मार्टिन ओडेगार्ड, मालोर्काका टाके कुबो र सेभिलाका सर्जियो रेगुइलन। रियाल मड्रिडले गेरेथ बेल र जेम्स रोडरिगेजलाई राम्रो रकम आएमा बेच्न पनि तयार छ। पर्याप्त रकम जम्मा भएमा क्लियन एमबाप्पेलाई क्लबमा ल्याउने लक्ष्य रहेको छ।