प्रिमियरले पठायो अभिभावकलाई म्यासेज


नेपाल समाचारपत्र, काठमाडौं

खुमलटारस्थित प्रिमियर स्कुलको ज्यादतीको विषयमा समाचार प्रकाशित भइरहँदा विद्यालयले अभिभावकलाई पटकपटक टेलिफोन गरी दुःख दिइरहेको पाइएको छ । विद्यालयले कक्षागत अभिभावक प्रतिनिधि (पीआर) मार्फत यस्ता म्यासेज पठाइरहेका छन् ।

माथिको शुल्क तालिका त एउटा कक्षाको नमुना मात्र हो । फरक कक्षाका फरक पीआरले भाषा एउटै प्रयोग गरी फरक रकम उल्लेख गरेर म्यासेज पठाएका छन् ।

ठूला विद्यालयको ज्यादतीको कारण प्याब्सन र एन प्याब्सन आबद्ध विद्यालयले आफ्नो अभिभावकसँग वार्षिक शुल्कको कुरा त परै जाओस् मासिक शुल्कसमेत लिन सकेका छैनन् । यस्तो अवस्थामा प्रिमियरले लगातार दबाब दिएपछि अभिभावक हैरान भएका छन् ।

ठूला विद्यालयले मनपरी शुल्क असुल्ने तर अधिकांश विद्यालयले मासिक शुल्कसमेत लिन नसक्ने अवस्थामा पुगेका छन् । सरकारले मासिक शुल्क लिनेसमेत अनुमति नदिएको आरोप लगाउँदै चरम आर्थिक संकटमा परेका जनाउँदै साउन १ गते बिहीबारदेखि देशैभरका निजी विद्यालयको अनलाइन कक्षा बन्द गरेका छन् । शिक्षक र कर्मचारीलाई घरबिदा दिइएको छ ।

बन्दको फाइदा त अहिले मनपरी शुल्क उठाउन म्यासेज र बिल पठाएका र शुल्क उठाउन नपाएका ठूला विद्यालयलाई परेको छ । अभिभावकले शुल्क तिर्न नमानेपछि बन्द गर्न सल्लाह दिएका ती विद्यालयलसँग शुल्क लिए वा नलिएको विषयमा सम्पर्क गर्दा अधिकांशले विद्यालय बन्द गरेकाले कुरा नगर्न आग्रह गरेका छन् ।

विषेश गरी प्रिमियर, युलेन्स, काठमाडौं वल्र्ड र रातो बंगला, जेम्स, पाठशालालगायत दुई दर्जन विद्यालयका कारण मासिक शुल्कसमेत उठाउन नसकेका करिब ६ हजार विद्यालय संकटमा परेको छ । पछिल्लो समय प्रिमियरको दबाबका कारण अधिकांश अभिभावकले आफ्ना छोराछोरी फिर्ता गर्नेसम्मका अप्रिय निर्णय गर्ने तयारीमा छन् ।

छोराछोरीलाई विद्यालयले टर्चर दिन्छ भन्ने डरले मिडियामा नबोली विद्यालयको पछिल्लो गतिविधिको विरोध गरिरहेका अभिभावकले प्रिमियरले पठाएको शुल्क नतिर्ने पुरानो अडान दोहो¥याएका छन् । उनीहरुले पैसा तिर्न पर्छ भन्ने कुरा सोच्नै छोडेको बताएका छन् ।

अधिकांस अभिभावकले स्कुलको यस्तो व्यवहार देखेर दुःख व्यक्त गर्दै पीआरमार्फत पठाएको शुल्कसहितको म्यासेजको जवाफ दिँदै सामाजिक सञ्जालमा लेखेका छन्– ‘लकडाउनको अवधिमा स्कुल सञ्चालन नभएको बेला वैशाख, जेठ र असारसम्मको शुल्कसहित भनी झन्डै २ लाख रुपियाँ असुल्न कोसिस गरिरहेका छन् । स्कुल आफैंले आफ्नो आधिकारिक माध्यम वा कर बिजक प्रयोग नगरी पैसा डिपोजिट गर्न ताकेता दिइरहेको हुनाले सबै अभिभावक पीडित र आतंकित भइरहेका छन् । साथै चैत महिनाको शुल्क नलिन नेपाल सरकारले गरेको निर्णयलाई समेत लत्याएर पहिला नै शुल्क लिइसकेका छन् ।’

शुल्कको विषयमा विवाद भएपछि असार २६ फोटोकपी पेपरमा सूचना जारी गरेका विद्यालयले मासिक शुल्कमा १५ प्रतिशत घटाएको घोषणा गरेको छ । तर, वार्षिक शुल्क घटाउने विषयमा कुनै उल्लेख गरेको छैन । पत्रको अन्त्यमा भनिएको छ– ‘केही समस्या र सहयोग लिन पर्ने भए विद्यालयको एक्जुकेटिभ सेक्रेटरी अर्पणा शर्मासँग सम्पर्क गर्न अनुरोध छ ।’

विद्यालयले पठाएको पत्र र म्यासेजमा शर्माको मोबाइल नम्बर उल्लेख छ । सो नम्बरमा फोन गरी कुरा गर्दै उहाँले भन्नुभयो– ‘सरी म यो विषयमा बोल्न सक्दिनँ, म स्पोक पर्सन होइन ।’ उहाँले अहिले विद्यालय पूर्ण रुपमा बन्द भएको समेत जानकारी दिनुभयो । अधिकांश आधिकारिक पत्र र सूचनामा विद्यालयको प्रिन्सिपलको नम्बर हुनुपर्नेमा सो विद्यालयले एक्जुकेटिभ सेक्रेटरीको नम्बर उल्लेख गरेको छ ।