खोकना–फास्ट ट्रयाक विवादः खुडोलबाट सुरक्षाकर्मी फर्के, प्रदर्शनकारीले धान रोपे


सुरेश तामाङ, ललितपुर

गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्टट्र्याक) को धमाधम काम भइरहेको छ । पुल, सुरुङ निर्माण गर्नुपर्ने कामबाहेक अधिकांश स्थानमा सडकको कामको प्रगति हेर्दा उत्साहजनक प्रगति नै देखिन्छ ।

लेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको सन्ताउन्नौँ वार्षिक प्रतिवेदनले पनि दु्रतमार्गको कामको प्रगति उत्साहित नै देखिन्छ । ‘सडकको कुल लम्बाइ ७६ दशमलव २ किलोमिटरमध्ये पुल र सुरुङको लम्बाइ घटाउँदा बाँकी रहने ५५ दशमलव ५० किमिमध्ये २५ दशमलव ४४ किमिको सबग्रेड फर्मेसन लेभलसम्मको निर्माण शतप्रतिशत, १० दशलमव ९२ किमि सडकको निर्माण ८० प्रतिशतभन्दा माथि तथा १६ दशमलव ९ किमिको सडक ५० देखि ८० प्रतिशत प्रगति भएको उल्लेख छ’ –प्रतिवेदनमा उल्लेख छ ।

तर दु्रतमार्गको जिरो किलोमिटर अर्थात् सुरुको विन्दु पार्ने ललितपुरको खोकना, बुंगमति र फर्सिडोल खण्डमा भने काम भएको देखिँदैन । स्थानीयको अवरोधकै कारण यहाँको काम अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै दु्रतमार्गको विरोधमा उत्रिएका खोकना, बुंगमतिका स्थानीयले खोकनामै बन्न लागिएका योजनाहरु स्मार्ट सिटी, रेल मार्ग, १३३ केभीको विद्युतीय प्रसारण लाइन, बागमति कोरिडोरको एक साथ विरोध गर्दै आएका छन् ।

दु्रतमार्गको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइदेखि खोकनालाई दु्रतमार्ग चाहिँदैन भन्दै आएका स्थानीयले विरोध गर्न पनि छोडेका छैनन् ।

‘सम्पदार नेवा संस्कृति मासिने गरी विस्तार हुन लागिएको फास्टट्रयाकलगायत अन्य योजना खोकनालाई स्वीकार्य छैन । हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ । राज्यले सुन्नुपर्छ’, शनिबार विरोध सभालाई सम्बोधनका क्रममा खोकना जनसरोकार समितिका संयोजक नेपाल डंगोलले बताउनुभयो ।

पछिल्ला दिनमा खोकनामा यस्तै विरोधका सभाहरु भइरहेको छ । विरोधको स्वरुप भने दु्रतमार्गको लागि अधिग्रहण गरिएका खेतहरुमा धान रोप्ने त कहिले आफ्ना मागहरु जनप्रतिनिधिले नसुनेको भन्दै तिनीहरुको पुतला दहन गर्नेदेखि मसालजुलुससम्म गरिरहेका छन् ।

राज्यले विभिन्न योजना लाद्दै नेवारलाई विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ । पछिल्लो केही हप्तामा मात्रै खोकनाबासीले दु्रतमार्गको प्रस्थानविन्दु खुडोलमा प्रदर्शन गर्दै आएका छन् । गएको असार २० गते सोही स्थानमा प्रदर्शनका क्रममा झडपसमेत भएको थियो । जसमा प्रहरीका साथै केही प्रदर्शनकारी घाइते भएका थिए ।
दु्रतमार्गका लागि अधिग्रहण गरेका खाली खेतमा खोकनाबासीले धान राप्ने कार्यक्रममा झडप भएको हो । हिजो शनिबार पनि खोकनाबासीले सोही क्षेत्रको खाली रहेको खेतमा धान रोपेर विरोध गरेका थिए ।

लगातारजसो दु्रतमार्गको विरुद्धको विरोधमा उत्रिने प्रदर्शनकारी र प्रहरीको फौजको गतिविधि हेर्दा समाधानको बाटो भुलेको देखिन्छ । दिनप्रतिदिन खोकनाबासीले आक्रोश पोख्दा यहाँका जनप्रतिनिधि भने कानमा तेल हालेर बसेको झैँ गरी रहेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले जनप्रतिनिधिप्रति लक्षित गर्दै नारासमेत लगाइरहेका छन् । जनप्रतिनिधि भएर आफूहरुको माग नसुनेको उनीहरुको भनाइ छ ।

यसअघिको प्रदर्शनका क्रममा झडप भएपछि शनिबार पनि अन्य दिनजस्तै बाक्लो सुरक्षार्की तैनाथ गरियो । प्रदर्शनकारी आउनुपूर्व नै खुडोलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका करिब तीन सयको हारहारीमा फौज तैनाथ थियो तर १५ मिनेट पनि नबसी सबै फौज फिर्ता भयो ।

फौजलाई नेतृत्व गरेका त्यहाँ उपस्थित नेपाल प्रहरीका एक उच्चअधिकारीसँग बुझ्दा उनले माथिको आदेश भएको भन्दै फौज फर्काउन लागिएको बताए । उनीहरुले यसअघि अधिग्रहण गरिसकेको जग्गामा धान रोप्न पाउँदैन भन्दै प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेका थिए ।

प्रदर्शनकारीले भने धान रोपेरै जान्थे । प्रहरी फर्केको एक घण्टापछि खोकनाबासी बाजागाजसहित खेतमा झरे । बाँझो खेतमा ट्याक्टर जोते । धान रोपे । अघिल्लो प्रदर्शनमा विभिन्न नारासहित धान रोप्थे तर शनिबारको दृश्यमा त्यस्तो देखिएन । धान रोपेर फर्किने क्रममा केही युवकका समूह भने आक्रोशित देखिए ।

ती समूह दु्रतमार्गको निर्माण सामग्री राखिएको जस्ताको टहरो भत्काउनतिर लागे । केहीले जस्ता, रडलगायतका निर्माण सामग्री नजिकैको बागमती नदीमा बगाए । त्यसपछि प्रदर्शनकारी घरतिर लागे ।