हिटलरको कार पेन्टिङ गर्दै नारायणहिटी


ईश्वरराज ढकाल, काठमाडौं

नारायणहिटी दरबार संग्रहालयले संग्रहालयभित्र हिटलरको गाडी रङ्गरोगन शुरु गरेको छ । लकडाउन खुकुलो भए नारायणहिटी संग्रहालय खुलेलगत्तै सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी सो कार रङ्गरोगन गरिएको हो ।
लामो समयदेखि देखाउने तयारी गरेपनि विभिन्न कारणले रोकिएको हिटलरले उपहार दिएको कार बल्ल रङरोगन गरेको हो । करिब पाँच लाख रुपियाँ खर्च गरी मर्मत र रङ्गरोगन गरिएको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले संग्रहालयमा वर्षांै पुरानो सो कार मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भएको बताउनुभयो ।

संग्रहालयमा बेलायती महारानीले उपहार दिएको बग्गी, राजा वीरेन्द्र उहाँको परिवारका सदस्य दीपेन्द्र, ऐश्वर्य, श्रुति र निराजनले प्रयोग गरेका पुराना सवारी साधन प्रदर्शनीमा राख्ने तयारी भैरहेको छ ।

सो बग्गी बेलायत र नेपालमा मात्र छ । त्यससंँगै राजा त्रिभुवन पछिका राजपरिवारका सबै सवारीसाधन प्रदर्शनीमा राख्ने व्यवस्था गरिएको दाहालको भनाइ छ । उहाँका अनुसार ती सवारी साधन प्रदर्शनीमा राख्ने बारेमा केही परामर्श बाँकी छ ।

संग्रहालय प्रशासनले करिब ६ वर्षदेखि प्रदर्शन गर्ने तयारी रहेको राजा वीरेन्द्रको भवन श्रीसदन पनि खुला हुने भएको छ । त्यसको लागि थप २६ वटा सिसिभिटी जडान गरिएको उहाँले जानकारी दिनुभयो । ‘एक महिनाभित्र हिटलरको कार, श्रीसदन, राजा त्रिभुवनको पालादेखिको सबै सवारी साधन प्रदर्शनीमा राख्ने तयारी गरेका हौं’–कार्यकारी निर्देशक दाहालले भन्नुभयो ।

उहाँका अनुसार लकडाउनको अबधिमा संग्रहालयले नारायणहिटी दरबार रङरोगन गरिएको, प्रदर्शनी कक्षमा पानी चुहिन थालेको भाग मर्मत गरी तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । ‘सरकारले चालु आबमा एक रुपियाँ पनि बजेट व्यवस्था नगरेपछि उधारोमा काम गेरिरहेका छौं, जसरी भएपनि मर्मतसंभार गर्नेछौं– उहाँको भनाइ छ ।

अबलोकन खुला गरेपछि संकलन भएको रकमको करिब २५ प्रतिशत खर्च गर्न पाउने व्यवस्था भएअनुसार ठेकेदारलाई रकम उपलब्ध गराउने गरी काम भैरहेको उहाँको भनाइ छ । संग्रहालयले लाइट एण्ड साउन्ड सिष्टम, रात्रीकालीन व्यवस्थापन, बगैचा निर्माण, राजा वीरेन्द्र परिवारले चढ्ने हवाइजहाज, नारायणहिटी दरबारभित्र रहेको सिनेमाहल, पुस्तकालय, शैलुनकक्षलगायत बाँकी रहेका सबैकक्ष र सामग्री प्रदर्शनीमा राख्ने तयारी गरेको छ ।

‘अबको एक वर्षभित्र नारायणहिटी परिसरका सबै दरबार, हल लगायत सम्पूर्ण सामग्री खुला गर्ने योजना बनाएका छांै’ –कार्यकारी निर्देशक दाहालको भनाई छ ।

सरकारले नारायणहिटी दरबार २०६५ फागुन १५ गतेदेखि संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला गरेको छ । ७ सय ५३ रोपनी क्षेत्रफलमा पैmलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले दर्जन भन्दा बढी संरचना निर्माण गरिसकेको छ । सोही जग्गामा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको छ । हाल नारायणहिटी सग्रहालय तीन सय १८ रोपनी क्षेत्रफलमा सीमित छ ।

राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालिन राणा प्रधानमन्त्री रणोद्धिप शाहको पालामा निर्माण भएको नारायणहिटी दरबार १९९० सालमा भूकम्पले क्षति पु¥याएको थियो । राणा प्रधानमन्त्री वीर शम्सेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो ।

अहिलेसम्म राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटी दरबारको सबै कक्ष खुला गर्न सकिएको छैन । अहिले ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुटलगायतका सामग्री प्रदर्शनीमा राखिएको छ ।