बाँदर धपाउने यन्त्र पड्किएर एक युवक घाइते


न्युज अफ नेपाल,पाल्पा ।

बाँदर धपाउनका लागि प्रयोग गरिने यन्त्र पड्किएर पाल्पामा एक युवक घाइते भएका छन् । बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोकमा बाँदर धपाउने यन्त्र प्रयोग गर्नंै क्रममा यन्त्र पडकिएको हो ।

सो यन्त्र वादर धपाउनका लागि सहज हुने भन्दै गाउँपालिकाले किसानलाई वाँडेको वताइएको छ । स्थानीयका अनुसार यन्त्र पड्किएर बगनासकाली गाउँपालिका–२ का मनोज ज्ञवाली घाइते हुनुभएको हो । उहाँको हातमा चोट लागेको छ । उहाँको अहिले स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

गाउलेहरुले यन्त्र वितरण गर्नु अगाडि गाउँपालिकाले सुरक्षाको जाँचबुझ गर्नुपर्ने माग गरेका छन । यससम्बन्धी पूरै जानकारी र प्रशिक्षण नदिइ यो यन्त्रको प्रयोग गर्दा मानिस घाइते हुने र मानिसको समेत मृत्यु हुन सक्ने खतरा भएको स्थानीयको आरोप छ ।

बाँदरले अन्नबाली खाएर हैरान भए पछि गाउपालिकाले बाँदर धपाउन सहयोग पुग्ने भनेर यो यन्त्रको खरिद गरेर वितरण गरेको थियो । सो यन्त्रमा फलफूल आदी पकाउन प्रयोग गरिने ‘कार्वाइड’ नामक रसायन पानीका साथ प्रयोग गरी हल्लाएर ठूलो आवाजका साथ पडकाउदा वाँदर भाग्ने वताइएको छ ।