प्यूठानमा करदाता सेवा कार्यालय स्थापना


सलिम अन्सारी,प्यूठान ।

कर सम्बन्धी सेवा लिन अब तुलसिपुर जानु पर्ने बाध्यता टरेको छ । आन्तरिक राजश्व कार्यालय दाङ तुलसीपुरले प्यूठानमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता टरेको हो । त्यसको लागि आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन (साउन १ गते) देखि नै करदाता सेवा सम्बन्धी सेवा प्रवाह गर्ने गरी माण्डवी गाउँपालिका–३ जस्पुरमा कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख कर अधिकृत रामहरी मरासिनीले बताउनुभयो ।

अब प्यूठान र रोल्पाका सेवाग्राहीले प्यूठानबाटै कर सम्बन्धी सेवा लिन पाउने छन् । प्यान दर्ता, नविकरण, खारेजी, आय व्यय विवरण, कर दाखिला लगायतका सेवाहरू लिन पाउने गरी व्यवस्था मिलाइएको कार्यालय प्रमुख मरासिनीले जानकारी दिनुभयो । ’तुल्सीपुरमा गरिने काममध्ये ९० प्रतिशत काम सेवा कार्यालयबाट प्रवाह हुन्छ।’ उहाले भन्नुभयो ।’

तर कर सम्बन्धी न्यायिक अधिकार (दण्ड, जरिवाना, अनुसन्धान) लगायतका कामहरू तुलसिपुरबाटै हुने बताइएको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।यता सेवाग्राहीले पनि यो सुविधासँगै सहज हुने बताएका छन् ।

कार्यालयबाट रोल्पा र प्यूठानका दस हजार बढि सेवाग्राही लाभान्वित हुने बताईएको छ।
रोल्पा र प्यूठानका करदाता सामान्य काम पर्दा पनि तुलसिपुर जानु पर्ने बाध्यताले दुख पाइरहेका थिए । यसअघि सेवाग्राहीहरुलाई कम्तिमा पनि दुई दिन तुलसिपुरमै वस्नुपर्ने बाध्यता थियो।प्यूठान उद्योग वाणिज्य संघका लेखापाल निराजन श्रेष्ठले प्यूठानको माण्डबीमा कार्यालय खुलेपछि धेरै सहज हुने बताउनुभयो ।