पैदल मार्ग समेत नहुँदा झोलुंगे पुलको समान हेलिकप्टर मार्फत् ढुवानी गरिदैँ


न्युज अफ नेपाल,दार्चुला ।

 जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–१ गागा सम्म जाने पैदल मार्ग समेत नहुँदा गागामा निर्माण गरिने झोलुंगे पुलको समान शनिबारबाट हेलिकप्टर मार्फत ढुवानी भइरहेको छ ।

छाङ्गरु र तिंकरका स्थानियका लागी चामल ढुवानी गर्न जिल्ला आएको माउन्टेन कम्पनीको हेलिकप्टर संग सम्झौता गरेर जिल्ला सदरमुकाम खलंगाबाट झोलुंगे पुलको समान गागामा ढुवानी गर्न लागिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकरसिंह ऐतवालले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण देशमा लकडाउन हुनु तथा नेपालबाट ब्याँस सम्म जाने पैदल मार्ग समेत नहुँदा पुल निर्माणको समान ढुवानी गर्न नसकिएको अवस्थामा हेलिकप्टर संग सम्झौता गरी समान ढुवानी गरिहेको उहाले बताउनुभयो ।

हेलिकप्टर मार्फत अहिले पुलको लठ्ठा, तारजाली, स्टील डेक, ग्याबिन तार, फलामे समान, थिम्बल तथा बुल्डग ग्रिप्स लगायतका समान ढुवानी भइरहेको उहाको भनाई छ ।ब्याँस गाउँपालिकाको वडा नम्बर १ गागा र तिपुलच्याक्ती जोड्ने गरी नाम्पा तिंकर खोला माथी निर्माण गरिने झोलुंगे पुल निर्माणका गर्न स्थानिय शंकरसिह ऐतवालको अध्यक्षतामा आर्थिक वर्ष २०७६/०७७ मा झोलुंगे पुल निर्माण उपभोक्ता समिति गठन गरीएको थियो ।

पुल निर्माणका लागी स्वीस सरकारले ७५ लाख १४ हजार ३ सय ५७ रुपैया तथा ब्याँस गाउँपालिकाले ४ लाख ७९ हजार ६ सय ३९ रुपैया सहयोग गरेको थियो ।

६७ मिटर लम्बाई रहेको उक्त पुल निर्माणमा ७९ लाख ९३ हजार ९ सय ९६ रुपैया लागत लाग्ने अध्यक्ष ऐतवालले जानकारी दिनुभयो । हेलिकप्टर मार्फत पुल निर्माणको समान ढुवानी गरेर भदौको पहिलो साता देखी निर्माण कार्य थाल्ने उहाले बताउनुभयो ।

प्रतिकेजी २ सय रुपैयामा खलंगाबाट ब्याँस गाउँपालिकाको वडा नम्बर १ गागामा हेलिकप्टरले समान ढुवानी गरिरहेको छ । माउन्टेन कम्पनीको हेलिकप्टर संग ६५ क्वीण्टल पुलको समान ढुवानी गर्ने सम्झौता भएको अध्यक्ष शंकरसिंह ऐतवालले बताउनुभयो ।

तस्विर : किरन धामी