एकको शव फेला, दुई अझै बेपत्ता


सिन्धुपाल्चोक ।

बिहीबार बिहानीपखको पहिरामा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा तीन जनामध्ये एकको आज शव फेला परेको छ ।

अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । आज दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

यस्तै ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धार कार्य जारी छ ।