पीडित विस्थापितलाई राहतसँगै प्रदेश सरकारले आवास बनाईदिने


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बागमती प्रदेश सरकरको प्रदेश विपद् व्यवस्थापन समितिले बाढी पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका ३ स्थानिय तहलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको तर्फबाट सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरुमा बाढी पहिरो पिडितको पक्षमा सहयोग गर्ने निर्णय गरिएको उध्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिनुभयो । प्रदेश सरकारले राहत व्यवस्थापनको लागि बाह्रबिसे नगरपालिकालाई ३० लाख, भोटेकोशी गाउँपालिकालाई १५ लाख र जुगल गाउँपालिकालाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

बाढी पहिरोमा परि घाईते भई उपचाररत बिरामीको उपचारमा सहयोग पुर्याउन अस्पतालको बिल अनुसार अधिकतम प्रति बिरामी २५ हजार सम्म उपचार खर्च बेहोर्ने निर्णय पनि भएको छ ।

बाढी तथा पहिरोमा घर क्षति भै पिडित भएका परिवारलाई प्रदेश सरकारले आवासको व्यवस्था गर्ने निर्णय गरेको छ । सम्बन्धित स्थानिय तहले स्थान छनोट गरेपछी बिस्थापितलाई आवासको ब्यबस्था गरिनेछू, मन्त्री नेपालले भन्नुभयो ।

यश अघि बागमती प्रदेश सरकारले मृतक परिवारलाई प्रति मृतक १ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।