एजेन्सी ।
विश्व खेलकुदमा कतिपय चर्चित खेलाडी प्रशिक्षकका रुपमा असफल भएका छन् भने कतिपय छायाँमा परेका खेलाडी सफल प्रशिक्षक पनि बनेका छन् । धेरै कम ब्यक्ति मात्र त्यस्ता छन् जसले खेलाडी र प्रशिक्षकका रुपमा निपुणता हासिल गरे । त्यही मध्येमा अटाएको एउटा नाम हो जिनेदिन यजीद जिदान ।
धेरैलाई सम्झना नै होला, सन् १९९८ को विश्वकप फुटबलमा आयोजक फ्रान्सलाई घरमै उपाधि दिलाउँदा नायक बनेका थिए जिनेदिन जिदान । सन् १९९८ विश्वकप फाईनलमा ब्राजिलबिरुद्ध दुई गोल गरेका जिदानको खेल कौशल वास्तवमै उच्च श्रेणीको थियो । हाल स्पेनिस क्लब रियल मेड्रिडका सफल प्रशिक्षकका रुपमा समेत स्थापित छन् उनी । प्रशिक्षक मात्र होईन, रियल मेड्रिडबाट पनि सन २००१ देखि २००६ सम्म खेलेर कुशलता देखाएका थिए जिदानले ।
२०१९ मार्चमा दोस्रो पटक रियल सम्हालेका उनले बिहीबार राति रियल मेड्रिडलाई ३४औं पटक स्पेनिस ला लिगाको उपाधि दिलाउन सफल भयो । यो समेत रियलको प्रशिक्षकका रुपमा जिनेदिन जिदानले दोस्रो पटक ला लिगाको उपाधि जितेका हुन् । यतिमात्र होइन, प्रशिक्षकको जिम्मेवारीमा उनले २ सय ९ खेलमा ११औं उपाधि समेत जित्न सफल भएका छन् ।
दुई सिजन लगातार ला लिगा च्याम्पियन बन्न नसकेको रियल मेड्रिड बिहीबार रातिको खेलमा भिया रियललाई हराएसँगै स्पेनिस च्याम्पियन बनेको हो । यति मात्र होइन, रियलले सन् २०१६, २०१७ र २०१८ मा लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्दा पनि जिदान नै रियलका मुख्य प्रशिक्षक थिए । उनी लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक समेत हुन् ।

सन् २०१६ मा इटालीको सान सिरो मैदानमा एट्लेटिको मेड्रिडलाई हराउँदै जिदानले आफ्नो प्रशिक्षणमा पहिलोपटक रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । त्यसको एक वर्षपछि २०१७ को च्याम्पियन्स लिग फाइनलमा पनि इटालियन च्याम्पियन युभेन्ट्सलाई ४–१ गोलअन्तरले हराएर रियलले उपाधि रक्षा गरेको थियो । त्यसको एक वर्षपछि जिदानकै प्रशिक्षणमा रियलले च्याम्पियन्स लिगको उपाधिमाथि ह्याट्रिक गर्यो । युक्रेनको एनएससी ओलिम्पिस्किय रंगशालामा भएको फाइनलमा रियलले उपाधिमाथि ह्याट्रिक गर्ने क्रममा इंग्लिश क्लब लिभरपुललाई ३–१ गोलअन्तरले हराएको थियो ।
यति हुँदाहुँदै उपाधिमा ह्याट्रिक गरेको चार दिनपछि उनले रियल छोडेर फुटबल जगतलाई नै अच्चमित तुल्याएका थिए । त्यस अवधिसम्म जिदानले रियललाई फिफा क्लब विश्वकप दुई पटक, युईएफए सुपर कप र सुपरकोपा डी इस्पानाको उपाधि एक(एक पटक दिलाईसकेका थिए । त्यसअघि नै उनी बेस्ट फिफा मेन्स कोच–२०१७ घोषित भएका थिए ।
जिदान प्रशिक्षकका रुपमा मात्र नभई खेलाडीका रुपमा पनि सफल रहे । उनले सन् १९९८ मा फ्रान्समा आयोजित फिफा विश्वकप जिते । त्यो नै फ्रान्सले जितेको पहिलो फिफा विश्वकप उपाधि थियो । फ्रान्सको त्यतिबेलाको टिमलाई ‘अल स्टार टिम’ समेत नामांकरण गरिएको थियो, जसमा विश्वकै दिग्गज खेलाडीहरु थिए । विश्वकप जितेकै वर्ष उनी ‘लेजियन अफ अनर’ उपाधिले सम्मानित बने, जुन उपाधिको सुरुवात नेपोलियन बोनापार्टले सन् १८०२ मा गरेका थिए । त्यसपछिका अन्य शासक र फ्रान्स सरकारले पनि त्यसलाई मान्यता दिँदै आएको छ ।
मैदानमा आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने उनी स्ट्राइकरहरुलाई सहज स्थानमा बल उपलब्ध गराउन माहिर खेलाडी थिए । कलात्मक तरिकाले दुवै खुट्टाले बल छक्याउन समेत उनी सिपालु थिए । सन् २००० को यूरोकपको उपाधि समेत आफ्नो राष्ट्रलाई दिलाउँदा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । फ्रान्सले सन् २००० मा युईएफए युरो कप जित्दा जिदान प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए । जिदानले २००६ को विश्वकपमा पनि प्लेयर अफ द टुर्नामेन्ट बन्दै गोल्डेन बल पाएका थिए ।
क्लब करियरको कुरा गर्नुपर्दा जिदानले कान्नेसबाट क्लबस्तरीय प्रतियोगितामा डेब्यू गरेका थिए । सन् १९८८ देखि १९९२ सम्म सोही क्लबमा बिताएका उनले त्यसपछि बौर्डीओक्समा ९१९९२/९६०, युभेन्ट्समा ९१९९६/२००१०, रियल मेड्रिडमा ९२००१/०६० सम्म खेलेका थिए । उनले फ्रान्सको राष्ट्रिय टोलीबाट १ सय ८ खेलमा ३१ गोल गरेका छन । त्यस्तै १९९८, २००२ र २००६ को विश्वकप खेलेका उनले १२ खेलमा ५ गोल गरेका थिए । सन् २००१ मा रियल मेड्रिडमा आएको अर्को वर्ष नै उनको टोलीले युरोपियन शीर्ष लिग प्रतियोगिता जितेको थियो । उनले सन् २००२ मा रियल मेड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन फाइनलमा गरेको एक गोल लिगको इतिहासकै उत्कृष्ट गोलमध्येमा गनिन्छ ।

सन् २००४ मा उनलाई फिफाले शीर्ष १०० खेलाडीको सूचीमा समेत राखेको थियो । त्यसै वर्ष युरोपियन फुटबलले गोल्डेन जुब्ली पोलको मद्दतले उनलाई विगत ५० वर्षकै उत्कृष्ट खेलाडी घोषित गरेको थियो । सन् १९९८ का बेलोन डे ओर अवार्ड जितेका जिदान तीन सिजनसम्म शीर्ष तीनको प्रतिस्पर्धामा उत्रेका थिए । त्यति मात्र होइन, पाँच सिजन इटालियन क्लब युभेन्ट्समा बिताएपछि कीर्तिमानी मूल्य ७७।५ मिलियन युरोमा उनी २००१ मा रियल मेड्रिडमा अनुबन्धन भएका थिए । त्यहाँ उनले ५ वर्ष खेल्ने क्रममा ला लिगा उपाधि पनि जिते ।
यति हुँदाहुँदै पनि सन् २००६ को जर्मनी विश्वकप भने उनको लागि बिर्सनलायक बन्यो । इटालीविरुद्धको फाइनलमा इटालियन रक्षक मातेराजीलाई छातीमा टाउकोले हानेर उनी रातो कार्डका सिकार भएका थिए । उक्त खेलपछि फ्रान्सको चौथो सबैभन्दा लोकप्रिय खेलाडी जस्तो गर्बिलो करियरमा तीतो अनुभव संगाल्दै उनले सक्रीय खेल जीवनबाट सन्यास लिए । खेलाडीको रुपमा बिदा भए पनि फुटबलबाट उनको मन कहिल्यै मरेन । प्रशिक्षकका रुपमा फेरि फुटबलमै फर्किए । यसपटक उनी खुट्टाले होईन, दिमागले खेल्ने गरि मैदान फर्किएका छन् । जसमा उनी लगातार सफल पनि भईरहेका छन् ।











प्रतिक्रिया