पर्वतको महाशिला गाउँपालिकाले बाड्यो १४ हजार फलफुलका विरुवा


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको महाशिला गाउँपालिकाले किसानहरूलाई कागती र सुन्तलाका १४ हजार बढी बिरुवा निशुल्क वितरण गरेको छ ।

६ हजार कागती र ८ हजार सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरीले जानकारी दिनुभयो ।
बन्दाबन्दीको समयमा पनि पालिकाले बिरुवा झिकाई सबै वडाहरूमा वितरण गरेको हो । सुन्तला र कागतीको पकेट क्षेत्रको आधारमा बिरुवा वितरण गरिएको र किसानलाई मापदण्ड अनुसार खाडल खन्न र मल राख्न लगाइएको ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई वितरण गरिएको सुन्तला र कागतीको बिरुवा लगाइएका क्षेत्रमा गाउँपालिकाले निरन्तर अनुगमन समेत गर्नेछ । गाउँपालिकालाई कृषि विकासका लागि विशेष प्राथमिकतामा राखेर कृषि कार्यक्रम समेत संचालन गरिएको र कृषि क्षेत्रबाटै पालिकालाई सम्पन्न गराउने गाउँपालिको उदेश्य रहेको छ ।

गाउँपालिका कागती र सुन्तलाको पर्वतको महाशीलाले बाड्यो चौध हजार फलफुलका बिरुवालागि पकेट क्षेत्र समेत बन्ने उहाँको दाबी छ । किसानले उत्पादन गरेको सुन्तला, कागतीले बजार नपाए पालिकाले खरिद गरिदिने गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताउनुभयो । पालिकाका किसानको आवश्यकता र माग अनुसार बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बाहिर एउटा बिरुवा बराबर सय रुपैयाँ पर्ने र सहजै रुपमा किन्न समेत नपाइएको अवस्थामा पालिकाले बिरुवा निशुल्क वितरण गर्दा ठूलो राहत मिलेको स्थानीय किसान मोहन पौडेलले बताउनुभयो ।