पहिरोले कालीगण्डकी प्रसारण लाईनको टावर बगायो


दुर्गाप्रसाद शर्मा, पर्वत ।

पहिरोका कारण निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ ।

पर्वतको कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दाना देखि जोड्ने खुर्कोट–दाना निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढलेको हो ।

नेपाल विद्युत प्राधिकरणद्धारा कालीगण्डकी प्रशारण कोरीडोर अन्तरगत सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको पर्वतको जलजला गाउपालिका–७ मिलनचोक स्थित टावर ढलेर क्षति पुगेको स्थानीय राजु आचार्यले जानकारी दिनुभयो । जलजला स्थित धाइरिङको डिलबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग ९खुट्टा०मा लागेर १४ नम्बरको टावर ढलेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो । गत सोमबार रातिको पहिरोले कुनातर्फ टावर पल्टिएको हो ।

कुनामा रहेको भिरमा पल्टिएकाले तार तानिसकिएको छ । प्रशारण लाइनको अन्य दुई वटा टावरमा पनि असर गरेको छ । नजिकै रहेको मिलनचोक–धाइरीङ सडक र बस्तिमा भने क्षति पुग्न नपाएको रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार टावर पल्टिदा करिब ४ करोड बराबरको क्षति पुगेको छ । टावर ढल्नुको कारण र पारेको क्षतिको बारेमा आयोजनाले अध्ययन थालेको छ ।

नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९ दशबलब ६ किलोमीटर दुरिको खुर्कोट–दाना प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । ११४ वटा टावर मध्ये पोखरेबगरमा दुई वटा बाहेक सबै ठाउँमा टावर ठडाएर तार समेत तानिएको आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले बताउनुभयो ।

दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको आयोजना अन्तरगत दाना र खुर्कोटको सबस्टेशन समेत अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । दोस्रो चरणमा खुर्कोट देखि नवलपरासी जोड्ने प्रशारण लाइन र सबस्टेशन समेत निर्माण सुरु भएको घोषले बताउनुभयो ।