रियल मेड्रिडले जित्यो ला लिगा उपाधि

0
Shares

लन्डन, एजेन्सी ।

रियल मेड्रिडले सिजन २०१९/२० को स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । नेपाली समय अनुसार आज बिहान भएको लिगको ३७औं चरणको खेलमा भिया रियललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

आफ्नो दोस्रो घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । रियलका लागि २ वटै गोल उनले गरे । निर्णायक बनेको खेलमा रियलका लागि खेलको २९औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ७७औं मिनेटमा बेन्जेमाले नै पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गरे । सुरुमा पेनाल्टी कप्तान सर्जियो रामोसले हान्न अघि बढेका थिए । तर, उनले सोझै प्रहार नगरेर बेन्जेमालाई पास दिएपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

पुन: प्रहारमा बेन्जेमाले गोल गर्दै गोल टिमलाई २–० ले अघि पारे । त्यसपछि पाहुना टोली भिया रियलका लागि खेलको ८३औं मिनेटमा भिसेन्टले हेडिङमार्फत् गोल गरेपछि खेलको अन्तिम स्कोर २–१ मा टुङ्गियो । यससँगै रियलले समग्रमा ३४औं पटक ला लिगा उपाधि जित्न सफल भएको छ ।

रियलले बार्सिलोनाभन्दा ८ पटक बढी लिग उपाधि जितेको छ । आजै भएको अर्को खेलमा दोस्रो स्थानको बार्सिलोना आफ्नो घरेलु मैदानमा पाहुना टोली ओसासुनासँग २-१ गोल अन्तरले पराजित भयो । यस सिजन रियलले अन्तिम खेल बाँकी छँदा बार्सिलोनालाई स्पष्ट ७ अंकले पछि पारेर उपाधिमा नाम लेखाउन सफल भयो ।

उपाधि जितेको खेलपछि रियलले ३७ म्याचबाट ८६ अंक जोडेको छ । पराजित भिया रियल ५७ अंकसहित पाँचौं स्थानमा यथावत छ भने बार्सिलोना पनि ७९ अंकसहित दोस्रो स्थानमा यथावत नै छ ।